कुखुरा र अण्डामा आत्मनिर्भर बन्यो दाङ

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ००


दाङ। दाङमा पोल्ट्री व्यवसायमा कृषकहरूले तीन अर्ब रुपैयाँभन्दा बढीको लगानी गरेका छन्।

पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासँगै पछिल्लो समय कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७०० भन्दा बढी फर्म तथा उद्योगहरू रहेका छन्।

जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४०० फर्म, करिब १०० दाना सप्लायर्स र अण्डाका लागि करिब १५० वटा लेयर्स फर्महरू रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ।

यिनमा तीन अर्ब रुपैयााभन्दा बढी लगानी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा.वेदबहादुर केसीले जानकारी दिए।

जिल्लामा पोल्ट्री व्यवसायमा दाङ उपत्यकाभन्दा देउखुरी उपत्यकामा बढी लगानी रहेको छ।

दाङका विभिन्न स्थानसँगै पहाडी जिल्लाहरूमा समेत कुखुरा, चल्ला, अण्डा पठाउन सकिने भएकाले धेरै व्यवसायीहरूले पोल्ट्री व्यवसायमा लगानी गरेको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्