क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : १२


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोक नाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले पदबाट राजीनामा दिएका हुन्।

‘आजको मितिबाट हामी क्यानबाट अलग हुने निर्णय लिएका छौं। आजसम्मको सहयोगको लागि धन्यवाद’,प्याकुरेलले भने।

प्याकुरेलले क्रिकेट उपलब्धिको लामो यात्रा रहेको बताउँदै आफूहरु क्यानमा नरहने बताए। उनले अहिले नै आफूहरु आउने वा न आउने केही निर्णय नभएको र बाहिरै बसेर क्रिकेटको विकासका लागि काम गर्ने बताए। यस्तै उनले पद ओगटेर बस्नेभन्दा काम गर्न अन्यलाई स्थान दिने बताए।

मंगलबार क्यान कार्यसमिति आएको दुई बर्ष पूरा भएको थियो। दुई वर्षअघि ११ मंसिरमा चतुरबहादुर चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए।

क्यानका प्रवक्तासमेत रहेका प्याकुरेलको अध्यक्ष चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहसँग सम्बन्ध विग्रिएको चर्चा छ।


प्रतिक्रिया दिनुहोस्