कांग्रेस अधिवेशनः २२ पुरुषलाई पछ्याउने एक्ली चेली माया

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : ५२


कपिलवस्तु । नेपाली कांग्रेसको-१४ औँ महाधिवेशनअन्तर्गत कपिलवस्तुमा बुधबार नगर तथा गाउँ अधिवेशन सुरु भएको छ।

१० पालिकामध्ये नौ पालिकामा आज अधिवेशन भइरहेको छ।

२३ जनाले सभापति पदका लागि उम्मेदवारी दिएका छन्। तर सभापतिका लागि जिल्लामा एक महिलाको मात्र उम्मेदवारी परेको छ।

कपिलवस्तु नगरपालिकाको नगर सभापतिका लागि नगर समितिका पूर्वसचिव माया ज्ञवालीले उम्मेदवारी दिएकी हुन्।

जिल्लामा रही सामाजिक अभियन्ता र मानवअधिकारको क्षेत्रमा पैरवी गर्दै आएकी ज्ञवालीले उम्मेदवारी दर्ता गरेकी छन्।

महिलाले अवसर पाए पुरुषले जस्तो काम गरेर देखाउन सक्छन् भन्ने देखाउन उम्मेदवारी दिएको ज्ञवालीले बताइन्।

२०६५ सालमा क्रियाशील सदस्य बनेकी ज्ञवाली गुटमा नलागी साझा उम्मेदवार बनेकी हुन्।

विभिन्न कार्यक्रममा सहभागी हुँदा महिलाले नेतृत्व लिनुपर्ने आवाज उठेपछि उनले सभापतिको पदमा उठ्ने निर्णय लिएकी हुन्।

सभापतिको उम्मेदवारी परेसँगै आफूलाई फिर्ता लिनसमेत दबाब आएको उनले बताइन्।

महिलाप्रति आत्मबल बढाउन भए पनि उम्मेदवारी फिर्ता नलिने योजना रहेको बताइन्।

कुनै गुटतर्फ नलागे पनि ज्ञवालीले गरेको सामाजिक कामले उनलाई समर्थन गर्नेको संख्या धेरै रहेको कांग्रेस नेता आरएन ठाकुर बताउँछन्।

नगर सभापतिका लागि ज्ञवालीसँगै गोपीकृष्ण शर्मा, प्रशान्त कार्की, खुर्सेद अहमद खाँले निर्वाचन लड्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस्