ईपीएल क्रिकेटमा भैरहवाको पहिलो जित

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : २४


काठमाडौं । भैरहवा ग्लाडियर्टस्ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायलको क्रिकेट मैदानमा भएको प्रतियोगिताको आठौं खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको हो।

यसअघि ९० रनको लक्ष्य पाएको भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै ९२ रन बनायो। भैरहवाको जितमा उपुल थरङ्गाले सर्वाधिक ३४ रन बनाए। अविजित रहेका थरङ्गाले २७ बलमा ४ चौका प्रहार गरे।

यस्तै प्रदीप ऐरीले २२ रन बनाए। ऐरीले २३ बलमा ३ चौका प्रहार गरेका थिए। यस्तै रोहितकुमार पौडेल र तमीम इक्वालले समान १२ रन बनाए। भैरहवाको आशिफ शेष डक आउट भएका थिए।

यता, विराटनगरको लागि रामनरेश गिरीले सर्वाधिक २ विकेट लिए। ३ ओभर बलिङ गरेको गिरीले २२ रन खर्चिएका थिए।

यस्तै कप्तान करण केसी र बसन्त रेग्मीले समान १ विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङ गर्न आएको विराटनगरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८९ रन मात्र जोड्यो।

विराटनगरका दिलसान मुनविराले सर्वाधिक २५, सुमित महर्जनले १३ ,अनिल शाह र ओपनर आसिफ शेखले समान ११ रन जोडे।

भैरहवाका धमिका प्रसाद र आरिफ शेखले समान तीन विकेट लिए।

जितसँगै भैरहवाले २ खेलबाट ३ अंक जोडेको छ। यसअघि भैरहवाले वर्षाका कारण खेल रद्ध हुँदा पोखरासँग अंक बाँडेको थियो। यता, पराजित विराटनगरको भने १ खेलबाट कुनै अंक जोड्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस्