खेल जीवनको उत्तरार्द्धमा विराज महर्जनलाई नयाँ क्लब

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ४ : ४०


काठमडौं । नेपाली फुटबलको सफल कप्तानी दर्जा पाउने खेलाडीको सूचीमा पर्ने गर्छन् विराज महर्जन। घरेलु फुटबल होस् या अन्तर्राष्ट्रियस्तरको फुटबलमा शालिन व्यक्तित्व विराज सधैँ सफल नै रहे । उनले अन्य खेलाडीको तुलनामा बढी नै उपलब्धी हात पारे।

अन्तर्राष्ट्रिय खेलमा विराजले सन्यासको घोषणा गरिसकेका छन्। अब, विराजको एउटै लक्ष्य र योजना रहन्छ-क्लबस्तरमा बढीभन्दा बढी उपलब्धी हासिल गर्ने र आफ्नो पुरानै छविलाई प्रस्तुत गर्ने।

अन्तर्राष्ट्रिय फुटबलबाट विदाइ लिएलगत्तै विराजले घरेलु फुटबलमा नयाँ क्लब रोजेका छन्। विराज खेल जीवनीको उत्तरार्द्धमा ‘ए’ डिभिजन क्लब च्यासल युथ पुगेका छन्। राष्ट्रिय टोलीबाट विदाइ लिएका विराजको योजना नयाँ क्लबमा रहेको छ। उत्तरार्द्धकै कुरा गर्दा विराज पहिलो पटक ललितपुरको च्यासल पुगेका हुन्।

च्यासल आफैँमा ठुलो इतिहास बोकेको क्लब पनि हैन । तर, पछिल्लो समय फुटबलमा च्यासलले गरेको लगानी र फुटबलको विकाससँगै खेलाडीलाई देखाएको आशाले विराज च्यासलसँग प्रभावित भए। खेलाडीले आफू अनुकुल पाउने सबै सुविधा पाएपछि विराजले खेल जीवनीको उत्तरार्द्धमा नयाँ क्लब रोजे। जहाँ विराजले नयाँ टिमसँग काम गर्नुपर्ने हुन्छ। क्लब कार्यसमिति, नयाँ खेलाडीसँग अब विराजले नयाँ सम्बन्ध बनाउनु पर्छ।

राईट ब्याक विराजको बाल्यकाल र उनको खेल जीवनीको सुरुवात सम्झने हो भने उनी एन्फा एकेडेमीको तेस्रो ब्याजका खेलाडी हुन्। विराज एन्फा एकेडेमीमा दोस्रो ब्याजको रूपमा पुगेका थिए। तर, अन्य खेलाडीसँग खेल्दा उनी तेस्रो ब्याजसँग खेल्नुपर्ने भयो। विराजले उमेर समूहमा नेपालले सहभागिता जनाएको सबै प्रतियोगिता खेले।

एन्फा एकेडेमीपछि विराजले व्यावसायिक रूपमा २०६३ सालमा संकटाबाट आफ्नो फुटबल यात्रा सुरु गरे। जहाँ विराजले एक वर्ष खेले। विराजको खेलबाट प्रभावित न्यूरोड टिम एन आर टीले उनलाई क्लबमा भित्र्यायो।

एनआरटीमा तीन वर्ष खेलेपछि विराज थ्रीस्टार लागे । लिगका लागि थ्रीस्टारले आफ्नो मुख्य खेलाडीको रूपमा विराजलाई भित्र्याएको थियो । २०६७ सालमा थ्रीस्टार पुगेका विराजले २०६९ सालमा ए डिभिजन लिग जिते । विराजले आफ्नो व्यावसायिक फुटबल यात्रामा पहिलो पटक शीर्ष डिभिजनको लिग उपाधि हात पारेका थिए।

थ्रीस्टारमा विराजको प्रभाव देखेर मनाङ मर्स्याङ्दी क्लबले २०७१ सालमा क्लबमा भित्र्यायो । नेपाली फुटबलको सफल क्लबको रुपमा स्थापित भइसकेको मनाङबाट विराजले लिगको उपाधि नै जिते। आधा दशक मनाङमा रहँदा २०७५ सालको विना रेलिगेशन लिगको उपाधि मनाङले विराजकै कप्तानीमा पायो। यो उपाधि मनाङको कीर्तिमानी आठौं पटकको हो।

यसपछि विराज मछिन्द्र लागे। मछिन्द्रमा आएको पहिलो वर्षमै विराजले आफ्नै कप्तानीमा ए डिभिजन लिग उपाधि हात पारे। विराज तीन क्लबबाट ए डिभिजन लिग उपाधि जित्ने खेलाडीमा गनिन्छन् । कप्तानीको रूपमा गनिने हो भने विराज औँलामै गनिने गर्छन्।

राष्ट्रिय फुटबल टोलीका कप्तानी रहँदा विराजले बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप र १२ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि हात पारे । अन्तिम खेल र अन्तिम उपाधिको रूपमा विराजलाई घरेलु मैदानमा आयोजना भएको थ्री नेसन्स कप रह्यो।

यता, घरेलु लिगमा विराजले तीन फरक क्लब (थ्रीस्टार, मनाङ, मछिन्द्र)बाट लिगको उपाधि हात पारे। मोफसलको उपाधि भने गनेर साध्य नै छैन । यसर्थ, विराज नेपाली फुटबलले पाएको एक सफल कप्तान हुन्‌भन्दा गलत हुँदैन।

उनै विराज खेल जीवनको उत्तरार्द्धमा पहिलो पटक नयाँ क्लब च्यासल युथ पुगेका छन्। जहाँ उनलाई खेल्न निकै चुनौती हुनेछ। साथै आफूलाई प्रमाणित गरेर देखाउने अवसरसमेत रहेको छ।

किन विराज खेल जिवनीकै उत्तरार्द्ध नयाँ क्लब रोज्दैछन् रु यो फुटबल प्रेमीको लागि एउटा प्रश्न रहन्छ नै। ‘मछिन्द्रसँग मेरो त्यस्तो केहि भएको छैन। हामी खेलाडीले सधै क्लबसँग एक वर्षको सम्झौता गर्दै आएका छौँ। अघिल्लो साल म मनाङबाट मछिन्द्र आएको हो। अब च्यासल पुगेको छु। मेरो केही माग थियो। त्यो पूरा नभएपछि म च्यासल आएको हो’, न्युज कारखानासँग विराज भन्छन्।

खासमा विराज पछिल्लो समय च्यासल युथ क्लबले घरेलु फुटबलमा देखाएको योजना र लगानीबाट प्रभावित भए । जसका कारण च्यासल पुगे। ‘च्यासलमा खेल्ने वातावरण रहेको छ। मैदान नै छ । त्यहाँ खेल्ने वातावरण मैले देखेपछि आएको हुँ । मलाई सुविधा पनि रहेको छ’, उनले भने।

यता, विराजलाई नयाँ क्लबमा चुनौतीसमेत छ । राष्ट्रिय खेलाडी तथा चलेका युवा खेलाडीले क्लबको साथ छाडेका छन् । यस्तो अवस्थामा विराजले युवा खेलाडीसँग भिजेर खेल्नुपर्ने हुन्छ ।

‘फुटबल भनेको सामूहिक खेल हो । यहाँ एक खेलाडीले राम्रो गरेर सफलता हासिल गर्छु भन्नु मुर्खता हो । एकले अर्कालाई हातेमालो गरेर काम गर्यौ भने पक्कै सफल हुन्छौं । मेहनत गर्ने हो । क्लबले जसरी मेहनत गरेको छ । त्यसमा हामीले साथ दिनेहो’, विराज भन्छन् ।

‘च्यासलले खेलाडीको विषयमा धेरै कुरा भोगेको छ । च्यासलले आशा गरेको राष्ट्रिय खेलाडीबाट नै प्रदर्शन नआएपछि क्लब मारमा परेको हो । यसपटक राष्ट्रिय टोलीबाट खेलेका खेलाडी धेरै नहोलान्, तर देश तथा विदेशमा रहेर खेलेका खेलाडी छन् । क्लबले हरेक पोजिसनमा हेरेर टिम बनाएको छ । मेहनत गर्ने हो, मेहनत गरेर नै क्लबलाई राम्रो अवस्थामा लैजान्छौं’, ३१ वर्षीय विराजले न्युज कारखानासँग भने ।

अब, विराजले आधा दशकदेखि सँगै खेलिरहेको खेलाडीको साथ छाडेका छन् । राष्ट्रिय टोली होस् या क्लबस्तरमा आधा दर्जन खेलाडी कुनै न कुनै अवस्थामा विराज वरपर नै घुमे । अब भने त्यो रहने । यस कुरामा विराज पनि सहमत छन् ।

ुमैले पनि पछाडि फर्केर हेरेँ । सधै आफूले चाहेर र सोचेको पाइँदैन । पहिला राम्रो थियो । म जहाँ गए पनि राष्ट्रिय खेलाडीको बाहुल्यता रहन्थ्यो । हरेक समय सेट टिम रहन्थ्यो । आफ्नै सेट हुँदा कसैले कसैलाई सम्झाउन बुझाउँन पर्दैन थियो’, उनी भन्छन्, ‘मैले आफैँले पनि च्यालेन्ज लिएको हो । एक पटक आफूले पनि केही गरौँन, सधैँ साथीहरूको सहयोगले कति हुन्छ भन्ने पनि रह्यो । आफूले पनि नेतृत्व कतिसम्म गर्न सकिन्छ। एउटा नयाँ भाइ ९खेलाडी० हरूलाई साथमा लिएर कहाँसम्म पुग्न सकिन्छ भन्ने मेरो मनमा पनि छ । त्यसै कारण पनि नयाँ क्लब पुगे।’

अब, विराज खेल जीवनको उत्तरार्द्धमा क्लबस्तरमा समेत प्रभाव छाड्दै बिदाई लिने योजनामा छन्। जहाँ विराजको योजना च्यासलसँग मेल खान्छ।

‘हाम्रो फुटबल जीवन सधैँ एकनाशको हुँदैन। जसरी मैले राष्ट्रिय टोलीबाट राम्रो भव्य सम्मान पाए। मेरो टार्गेट भनेको क्लबस्तरमा अझै १र२ वर्ष राम्रो प्रदर्शन दिएर आफ्नो कर्तव्य पूरा गर्छु। मेरो लक्ष्य भनेको क्लबस्तरमा राम्रो विदाइ लिने सोच बनाएको छु। यो विचार क्लबसँग मिलेकाले पनि यहाँ आएको हुँ’, विराजले भन।

रमेश सुवेदी/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्