म्यानी प्याकियोले बक्सिङबाट सन्यास लिए, राष्ट्रपतीय निर्वाचनमा लड्दै

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : ००


फिलिपिन्सका स्टार बक्सर म्यानी प्याकियोले बक्सिङ खेलबाट सन्यास घोषणा गरेका छन्। आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा उठ्न लागेका प्याकियोले २६ वर्षको बक्सिङ जीवनपछि सन्यास लिएका हुन्।

सामाजिक संजाल ट्विटरमा १४ मिनेटको भिडिओ सार्वजनिक गर्दै उनले आफ्ना समर्थकलाई धन्यवाद दिएका छन्। बक्सिङको ग्लोभ थन्क्याउने दिन आउँछ भनेर कहिल्यै नसोचेको भएता पनि समयको माग अनुसार आफूले सन्यास लिएका उनको भनाइ छ।

प्याकियोले आफ्नो खेल जीवनको अन्तिम खेल हालै खेलेका थिए। उनी क्युबाका योर्दिनिस उगाससँग पराजित भएका थिए। प्याकिओ ८ भिन्न डिभिजनमा बक्सिङ च्याम्पियन बन्ने एक्ला खेलाडइी हुन्।

पीडीपी–लबान पार्टीले प्याकियोलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रताव गरेको छ। सो प्रस्ताव प्याकियोले स्वीकार गरेका छन्। फिलिपिन्सका नागरिकले सरकारमा परिवर्तन चाहेको बताउँदै प्याकियोले हालै भनेका थिए,‘म एक फाइटर हुँ, म रिङ भित्र र रिङ बाहिर पनि लडाकु नै हुनेछु।’

उनका अनुसार फिलिपिन्समा यतिबेला इमानदारिता, प्रेम र पारदर्शिताका साथ जनताको सेवा गर्ने सरकारको आवश्यकता छ। प्याकियोले आफू राष्ट्रपति बनेमा गरिबी हटाउन र भ्रष्टाचार रोक्ने काम गर्ने बताएका छन्।

उनले भ्रष्टाचार गरेको ठहर भएका राजनीतिज्ञलाई समेत जेल हाल्ने चेतावनी दिएका छन्। उनले भनेका छन्,‘मेरो पुरै जीवनमा मैले कसैसँग झुकेको छैन र झुक्ने छैन।’ एपी

यो पनिः डुटेर्तेको शासनलाई चुनौती दिँदै बक्सर प्याकियो, फिलिपिन्सको राष्ट्रपतिमा लड्दै


प्रतिक्रिया दिनुहोस्