पर्यटकीय गन्तव्य तिलिचो ताल क्षेत्रको अनुगमनमा प्रशासन

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ०५


लमजुङ । पर्यटन सिजन सुरु भएसँगै मनाङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले तिलिचो ताल क्षेत्रको अनुगमन गरेको छ । मनाङका प्रमूख जिल्ला अधिकारी विष्णु लामिछानेको नेतृत्वमा सुरक्षा निकायका प्रमुख एवं सरोकारवालासहितको टोलीले तिलिचो ताल क्षेत्रको अनुगमन गरेको हो ।

बाढी र पहिरोले क्षतविक्षत पदमार्गको अवस्था पर्यटन सुरक्षा, होटल(रेष्टुरेष्टको अवस्था, पर्यटकीय वातावरण लगायतका विषयमा निरीक्षण भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । टोलीले सदरमुकाम चामेदेखि भारताङ, पिसाङ, हुम्डे, माथिल्लो मनाङ, खाङसार, बेसक्याम हुँदै तिलिचो तालसम्म अवलोकन गरेको हो ।

स्थानीय जनप्रतिनिधि, एक्यापका प्रतिनिधि र अन्य सरोकारवालासँग पर्यटन सुरक्षासँगै समुदायको शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको उनले बताए । कोभिड-१९ को प्रभाव र मनाङमा बाढी र पहिरोले क्षतविक्षत बनाएसँगै मनाङमा पर्यटकको सहज आगमन हुन सकेको छैन । यद्यपि फाट्टफुट्ट पर्यटक आउन थालेको मनाङ प्रशासनले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्