बबी यार नरसंहारः ३४ हजार यहुदीलाई निर्वस्त्र पारेर गोली ठोकिएको त्यो दिन

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : ४४


किभ । दोस्रो विश्वयुद्धको समयमा युरोपका यहुदीविरुद्ध डरलाग्दो जातीय नरसंहार भएको थियो । यस्तै डरलाग्दो नरसंहार युक्रेनको बबी यारमा भएको थियो । सन् १९४१ को २९ र ३० सेप्टेम्बरमा नाजीले गरेको नरसंहारमा करिब ३४ हजार यहुदी मारिएका थिए ।

तत्कालिन सोभियत युनियनको अधिनमा रहेको युक्रेनी राजधानी किभलाई २९ सेप्टेम्बरमा नाजीले कब्जा गरेपछि यहुदीलाई एउटा चौकीमा जम्मा गरेर गोली हानेका थिए । मारिनेमा महिला र बालबालिकासमेत थिए । नाजी नेता एडोल्फ हिट्लरको आदेश पालना गर्न जर्मन सेना १९ सेप्टेम्बरमा किभ पुगेको थियो ।

यहुदीको नरंहार गर्नुअघि राजधानी किभबाट उत्तरतर्फ रहेको बबी यारको एउटा खोँचमा यहुदीलाई जम्मा गरिएको थियो । त्यसपछि उनीहरूलाई निर्वस्त्र पारेर लाइन लगाइ मेसिन गनले पालै पालो गोली ठोकिएको थियो ।

हत्या गरिएका व्यक्तिलाई नजिकै खाल्डो खनेर सामूहिक पुरिएको थियो । नाजीले कतिपय यहुदीलाई फोहोर र ढुंगाले छोपेका थिए । हजारौं व्यक्तिको हत्यापछि बबी यारमा रगतको खोलो बगेको थियो । जर्मन सेना सोभियत युनियनबाट भागेपछि नरसंहारको प्रमाण मेटाउन नाजीले शव खोतलेर सामूहिक जलाउने प्रयाससमेत गरेको थियो ।

नाजीले सन् १९४१ देखि सन् १९४३ को अवधिमा थप एक हजार जनालाई पनि बबी यारमा नरसंहार गरेको थियो । यहुदी, सोभियत अधिकारी र रसियाका युद्धबन्दीलाई पहिला झैं निवस्त्र पारेर सामूहिक हत्या गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्