जुम्ला । सोमबार राति १० बजेतिर परेको चट्याङले ४० वटा भेडा मरेपछि गुठीचौका किसान चिन्तित भएका छन्।
जुम्लाको गुठीठचौर गाउँपालिका-४ मा रहेको डाबा लेख भन्ने पाटनमा चट्याङ लागेर ४० वटा भेडा मरेका हुन्। चट्याङका कारण १५ वटा भेडा घाइते भएका छ्न्।
उक्त पाटन बर्खायामको समयमा सबै भेडा किसानको भेडा पाल्ने क्षेत्र हो। त्यहाँ गुठीचौर गाउँपालिकाका चार जना भेडा किसान र २०० भेडा थिए।
किसानका अनुसार साढे छ लाख रुपैयाँ बराबरका भेडा मरेका छन्। भेडा मरेपछि स्थानीयको दैनिकी चलाउने आय स्रोत समेत नभएको किसान मुणिप्रसाद अधिकारीकाले बताए।
भेडा भएका ठाउँमा परेको चट्याङले भेडापालक किसानमाथि बज्रपात परेको गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए।
उनले भने, ‘विपद् कतिबेला आउँछ, थाहा हुँदैन। हामीले चाहेर पनि रोक्न सक्दैनौँ। गुठीचौर क्षेत्रका अधिकांश नागरिकको मुख्य आम्दानीको स्रोत भेडापालन नै हो।’
उनले भेडा पालक किसानहरूलाई राहतका लागि गाउँपालिकामा छ्लफल गर्ने बताए।
चट्याङका कारण भेडा मरेपछि भेडा पालक किसानको जीविकोपार्जन समस्या आएको उनको पनि भनाइ छ।
यता, पशु अस्पताल तथा पशु सेवा कार्यालयका जुम्लाका प्रमुख गोविन्द महतले भने प्रहरीको मुचुल्का, मरेका भेडाको फोटो, वडाको सिफारिस, सम्बन्धित किसानको नागरिकताको प्रतिलिपि लिएर किसानले जिल्ला प्रशासन कर्यालयमा दिनुपर्ने बताए।
जिल्ला प्रशासन कार्यालयले पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई सिफारिस गरेको खण्डमा राहत दिने व्यवस्था छ।
महतले राहतका लागि कार्यविधि बनेको र त्यसै कार्यविधिमा टेकेर भेडा किसानलाई राहत दिने व्यवस्था रहेको जानकारी दिए।
दिलमाया शाही/न्युज कारखाना