कोरियाको जागिर छाडेर खाग तस्करीमा

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ४४


चितवन । गैँडाकोट नगरपालिका-१ धारापानी बस्ने ३२ वर्षीय चतुरे भन्ने गोपाल सारु कोरियाको जागिर छाडेर गैँडाको खाग तस्करीमा संलग्न भएको पाइएको छ।

अनुसन्धान अधिकृत सरोजमणि पौडेलका अनुसार पाँच वर्ष कोरिया बसेर नेपाल आएका गोपालले सुरुमा काठको कारोबार गर्न खोजेका थिए।

कवि भन्ने रामकुमार श्रेष्ठले गोपाललाई खाग बेच्दा लाखौँ रुपैयाँ कमाइ हुने प्रलोभन देखाएर खाग तस्करीमा संलग्न गराएको पाइएको अनुसन्धान अधिकृत पौडेल बताउँछन्।

‘कोरियामा महिनामा डेढ लाख रुपैयाँ कमाउँदै आएको गोपालले यहाँ आएर काठको कारोबार गर्न खोजेको तर उसका नजिक बनेका कविले उसलाई खाग तस्करीमा संलग्न गराइएको पाइन्छ’, उनले भने।

गैँडाको चोरी शिकारीमा एउटै घरपरिवारका दाजुभाइ संलग्न भएको पाइएको छ। सिंहराम, सरोज र जयबहादुर एउटै परिवारका दाजुभाइ भएको उनले बताए।

सजाय भोगेर अदालतबाट छुटेका मुख्य योजनाकारहरू पुनः गैँडा तस्करीमा लागेका देखिएको उनी बताउँछन्।

कतिपय अभियुक्तले अदालतमा पुगेर बयान फेर्दा धरौटीमा पनि छुट्ने गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्