१६ करोड ऋणपछि धुर्मुस भन्छन्ः रंगशालाको लागि पानीपुरी बेच्नु बाध्यता

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : १२


धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरमा चितवनमा निर्माण गरिरहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका कामहरु ठप्प छन्। १६ करोड ऋण लागेपछि काम बन्द गर्न आफूहरु बाध्य भएको फाउन्डेसनका प्रमुख सिताराम कट्टेल धुर्मुसले बताएका छन्।

२०७५ माघ १६ गतेबाट चितवनमा उक्त रंगाशाला निर्माणको काम सुरु भएको थियो। देश विदेशबाट पहिले धेरै मानिसले सहयोग गरेका थिए। त्यसबेला उत्साहित भएको आफूहरुले काम थालेको धुर्मुस बताउँछन्।

हाल रंगशालाको ३५ प्रतिशत काम सकिएको छ र अहिलेसम्म ५४ करोड रूपैयाँ खर्च भएको उनको भनाइ छ। हाल १६ करोड ऋण भएकाले काम बन्द गर्नुपरेको उनको भनाइ छ। धुर्मुसले सहयोग गर्छु भन्ने दाताहरुले बोलेको रकम निकासा नगरेको गुनासो पनि गरेका छन्।

हाल देश विदेशबाट पनि उल्लेखनीय रुपमा सहयोग नजुट्ना निर्माण सामाग्रीहरू जुटाउन गाह्रो हुन थालेको उनको भनाइ छ। उनका अनुसार जहाँबाट सामान आउनु पर्ने हो, त्यहाँ उधारो भएपछि सामान ल्याउन सकिएको छैन।

सरकारसँगै सम्पूर्ण खेलप्रेमीहरूको भरपुर सहयोग पाउने अपेक्षामा आफूहरुले रंगशाला निर्माणमा लागेता पनि कोरोना प्रकोपपछि सहयोग पर्याप्त हुन नसकेको र अझै खर्च चाहिने धुर्मुसको भनाइ छ।

उनका अनुसार ५४ करोड लगानी गर्दा ३५ प्रतिशत काम सकिएको छ। यो रंगशाला पूर्ण रुपमा तयार हुन २ अर्ब ५० करोडमा जति लाग्छ। आर्थिक अभावकै कारण अहिले रङ्गशाला निर्माणको प्रमुख काम रोकिएको छ।

सिताराम कट्टेलले रङ्गशालाको काम अलपत्र परेको भनेर आएका समाचारहरु झुठो भएको बताउँदै निर्माण अलपत्र परेको नभएर रकमको अभावमा काम स्थगित भएको बताउँछन्।

उनका अनुसार चौरको दुबो गोड्ने, मर्मत गर्ने लगायतका काम अहिले पनि चल्दैछ। संरचना निर्माण भने अहिले स्थगित गरिएको हो।

उनले रकम अभावका कारण काम रफ्तारमा नगएको बताउँदै काम अगाडि बढाउन विभिन्न तहमा छलफल गरिरहेको बताएका छन्। उनले रकम प्राप्त गर्न र काम अगाडि बढाउन सरकारलाई प्रस्तावना समेत बुझाइसकेको उल्लेख गरेका छन्।

उनले रङ्गशाला निर्माणमा आफू र आफ्नो टिमले पानीपुरी बेच्नेदेखि नेपालका धेरै ठाउँको भ्रमण गरेको पनि बताए। उनी पानीपुरी बेच्नुको उद्देश्य सस्तो लोकप्रिताको लागि नभएर रंगशाला निर्माणको लागि खर्च जुटाउन त्यसो गरेको बताउँछन्। उनका अनुसार साना साना काम गर्न र पैसा जुटाउनु बाध्यता थियो।

उनका अनुसार खातामा पैसा भएर रङ्गशाला बनाउन सुरु गरिएको होइन। सबै मिलेर बनाऔँ भन्ने अवधारणा अनुसार सुरु गरेका थियो। रंगशाला खेलाडीहरुको मन्दिर भएकाले त्यसको निर्माण चाँडै सम्पन्न गर्न सरकार र देशका नागरिक सबैको सहयोग अपरिहार्य रहेको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस्