काठमाडौं/ चीनको पूर्वी क्षेत्रका नागरिकले भीषण उर्जा संकटको सामना गरिरहेका छन्। सुरुवातमा बिजुलीको अभाव उद्योग तथा कल–कारखानामा मात्र सिमित थियो, तर यतिबेला चीनका १० करोड नागरिकले बिजुली नहुँदा अँध्यारोमा बस्नु परेको छ।
चीनका नागरिकले उत्तर कोरियाकै जस्तो जनजीवन आफूहरुले बिताउनु परेको बताइरहेका छन्। बीबीसीका अनुसार लायनिङ, जिलिन, हिलोङजियाङ प्रान्तका नागरिकहरुले सामाजिक संजाल विबोमा फोटो तथा भिडिओहरु पोस्ट गरेका छन् जहाँ सडक तथा शहर नै अँध्यारो रहेको देख्न सकिन्छ। सडकका ट्राफिक लाइट पनि बलेका छैनन्।
बिजुलीको अभावसँगै कोइलाको मूल्य अत्याधिक बढेको छ। चीनमा बिजुलीको प्रमुख स्रोत अहिले पनि कोइलाबाट प्राप्त हुने उर्जा भएको बताइन्छ। बिजुली आपूर्ति गर्ने कम्पनीले आगामी वर्षको बसन्त ऋतुसम्म बिजुली तथा उर्जा संकट कायम हुने जनाएका छन्।
बिजुली नै नभएपछि देशका दर्जनौं कारखाना, उद्योगहरु बन्दको संघारमा पुगेका छन्। उनीहरुले बस्तु उत्पादन गर्न पाएका छैनन् जसका कारण उद्योग तथा कल–कारखाना बन्द हुन थालेका हुन्।
बीबीसीका अनुसार चीनका कम्तिमा ३ प्रान्त पुरै बिजुली विहिन छ जहाँका १० करोड नागरिक प्रभावित भएका छन्। यसअघि लायनिङ प्रान्तमा बिजुली जाँदा भेन्टिलेटरमा उपचाररत नागरिकहरुको अवस्था गम्भीर बनेको समाचार आएको थियो। यस्तै कयौं स्थानमा मानिसहरु जाडोबाट बच्न स्टोभ बाल्ने गरेका छन्।
अर्थ–व्यवस्थालाई नै धक्का
यो बिजुली तथा उर्जा संकट यसैवर्षको मार्चदेखि देखा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। यस संकटले चीनको अर्थतन्त्रमै असर पुर्याएको देखिएको छ।
मल्टिनेसनल इन्भेस्टमेन्ट बैंक गोल्डमेन स्याक्सका अनुसार बिजुली संकटले चीनको आर्थिक वृद्धिदर घट्ने देखिएको छ। ८.२ प्रतिशतबाट चीनको आर्थिक वृद्धिदर ७.८ प्रतिशरमा झर्ने अनुमान छ। स्याक्सका अनुसार चीनका ठूलो उद्योग र कारखानाहरुलाई यो संकटले असर गर्नेछ।
यो बैंकले चीनका ४४ प्रतिशत कारखानको गतिविधिलाई असर गर्ने प्रक्षेपण गरेको छ। बीबीसीका अनुसार उत्तरी चीनको तियानजिनको सबैभन्दा ठूलो बन्दरगाह पनि बिजुलीका कारण प्रभावित भएको छ।
किन छायो व्यापक उर्जा संकट
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२० मा संयुक्त राष्ट्रसंघको सम्मेलनमा जलवायु परिवर्तनको असर कम गर्न चीनले कार्बन उत्सर्जनको मात्रा कटौती गर्ने बताएका थिए।
रोयटर्सका अनुसार सन् २००५ देखि २०३० सम्ममा चीनले कार्बन उत्सर्जन ६५ प्रतिशतले घटाउने छ।
चीनले विश्वकै ठूलो अर्थतन्त्र बन्ने लक्ष्य लिएको छ जसका कारण त्यहाँ धेरै कल–कारखान र उद्योगहरु खुलेका छन्। चीन सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्र हो र चीनले कार्बन उत्सर्जन गर्न कम गरेमा विश्वमा जलवायु परिवर्तनको असर न्यून गर्न मद्दत पुग्ने बैज्ञानिकहरुको भनाइ छ।
चीनमा बिजुलीको प्रमुख स्रोत अहिले पनि कोइलाबाट प्राप्त हुने उर्जा भएको बताइन्छ। कोइला बाल्दा तथा बिजुली हुँदा उद्योग र कल–कारखाना चल्ने भएपछि त्यसले कार्बन उत्सर्जन कम गर्ने उद्देश्यलाई सहयोग गर्दैन। जसका कारण चीनले करोडौं नागरिक बसोबास गर्ने क्षेत्रको विजुली नै काटिदिएको रोयटर्सले जनाएको छ।
सन् २०२१ को पहिलो ६ महिनामा चीनका ३० मध्ये १० क्षेत्रले कार्बन उत्सर्जनमा कमी ल्याएको चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जनाएको छ। आयोगका अनुसार चीनले धेरै उद्योग भएको क्षेत्रमा लोडसेडिङ तालिका बनाएको छ। समय तोकेर उद्योग तथा कल–कारखाना चलाउन दिइएको छ। एजेन्सीहरुकाे सहयाेगमा