भारतीय कम्युनिस्ट पार्टी ‘सीपीआई’का प्रभावशाली युवा नेता कन्हैया कुमार र दलित नेता जिग्नेश मेभानी काँग्रेस आईमा प्रवेश गर्ने भएका छन्। एएनआईका अनुसार मंगलबार अर्थात् आज कन्हैया र मेभानी काँग्रेस प्रवेश गर्दैछन्।
उनीहरुको स्वागतको लागि दिल्लीस्थित काँग्रेस पार्टी कार्यालय अगाडि पोस्टर समेत टाँसिएको छ। पोस्टरमा कन्हैया र मेभानीलाई स्वागत भनिएको छ। यसै महिनाको सुरुवातमा युवा नेता कन्हैया कुमारले कंग्रेसका नेता राहुल गान्धीसँग भेट गरेका थिए। जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्वविद्यार्थी नेता कन्हैया कुमार र गान्धीबीच सहमति भएपछि कन्हैयासँगै मेभानी पनि बामपन्थी पार्टी त्यागेर काँग्रेस प्रवेश गर्न राजी भएको बताइएको छ।
यसअघि सेप्टेम्बर २७ मा सहिद भगत सिंहको जन्मदिनको अवसर पारेर पार्टी प्रवेश गर्ने तयारी भए पनि त्यस दिन कंग्रेसको देशव्यापी आन्दोलन घोषणा गरिएकाले सेप्टेम्बर २८ मा औपचारिक कार्यक्रमका बीच प्रवेश गर्ने तयारी गरेको बताइएको छ।
आज पार्टी प्रवेश कार्यक्रममा राहुल गान्धी, युवा नेता हार्दिक पटेल लगायतका नेताले सम्बोधन गर्ने ईन्डिया टुडेले उल्लेख गरेको छ। बिहारका कन्हैया कुमार दलित र गरिबका नेताका रुपमा परिचित छन्। उनको धारा प्रवाह र तार्किक भाषण गर्ने शैली धेरैले मन पराउँछन्।
Delhi | Posters welcoming Kanhaiya Kumar into Congress put up outside the Congress office ahead of his proposed joining pic.twitter.com/NucdHRXCt5
— ANI (@ANI) September 28, 2021
सन् २०१९ को लोकसभा निर्वाचनमा बिहारको बेगुसरायमा भारतीय जनता पार्टीका नेता गिरिराज सिंहसँग कन्हैया पराजित भएका थिए। कन्हैया कुमारको काँग्रेस प्रवेश तयारीलाई बिहारमा काँग्रेसलाई पुनर्जीवन दिने पार्टी नेतृत्वको रणनीतिका रुपमा समेत हेरिएको छ। उनी काँग्रेस प्रवेश गर्ने भएपछि बिहारमा भाजपालाई झट्का लाग्ने पनि देखिन्छ।
यस्तै जिग्नेश मेभानी भारतमा दलित आन्दोलनका नेताको रुपमा चिनिन्छन्। साथै उनले गुजरातको बदगामबाट एमएलएका लागि उम्मेदवारी दिँदा त्यहाँ भाजपालाई ठूलो धक्का परेको थियो।
कम्युनिस्ट पार्टीले भने आफ्ना नेता कन्हैयाले पार्टी त्याग नगरेको बताउँदै उनी काँग्रेस नजाने बताउँदै आएको छ। काँग्रेस प्रवेश गर्ने खबर झुठो भएको भन्दै त्यसको खण्डन गर्न सोमबार उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका थिए। सो कार्यक्रममा कन्हैयालाई बोलाइएको थियो तर कन्हैया कार्यक्रममा नगएको हिन्दुस्तान टाइम्सले जनाएको छ।