तीन फरक क्लबबाट ए डिभिजन लिग जितेका विराज च्यासलमा आवद्ध

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १२ : ५९


काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन ए डिभिजन क्लब च्यासल युथमा आवद्ध भएका छन् । मंगलबार च्यासल युथ क्लबले एक कार्यक्रम आयोजना गर्दै कप्तान विराज महर्जनलाई क्लबमा भित्र्याएको हो ।

राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका विराजले गत महिना नेपालमा आयोजना भएको थ्री नेसन्स कपबाट अन्तर्रास्ट्रिय फुटबलमा सन्यास लिएका थिए ।

घरेलु फुटबलको सहिद स्मारक ए डिभिजन लिगमा विराज पहिलो पटक च्यासलमा आवद्ध भएका हुन् । खेल जीवनको उत्तरार्धमा विराज पहिलो पटक च्यासलसँग सम्झौता गरेका हुन् । सम्झौतामा च्यासलका अध्यक्ष रमेश व्यञ्जनकार र विराजले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

ए डिभिजन यात्रामा विराजको यो पाँचौँ क्लब हो । यसअघि विराजले न्युरोड टिम, थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबाट लिग खेलेका छन् ।

विराजले थ्री स्टार, मनाङ र मछिन्द्रबाट ह्याट्रिकसहित लिग उपाधि हात पारेका थिए । एन्फा एकेडेमीका विराजले सन् २००८ मा पोखरामा भएको मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

राष्ट्रिय टोलीमा ७३ क्याप जितेका विराजले नेपालको लागि बंगबन्धु गोल्डकप, १२औँ साग, एएफसी सोलिडारिटी कपको उपाधि हात पारेका थिए । त्यसैले पनि विराजलाई नेपाली फुटबलको सफल कप्तान मानिन्छ ।

यस्तै,च्यासलले प्राविधिक निर्देशकमा स्कटल्याण्डका ली मान्सनलाई भित्र्याएको छ । यस्तै, च्यासललाई आगामी ए डिभिजन लिगमा यू क्यानले कीट स्पोन्सर गर्ने भएको छ ।

च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले आगामी दिनमा विदेशी खेलाडी, अन्य खेलाडी र प्रशिक्षकलाई समेत सम्झौता गरेर भित्र्याउने बताए । कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल विस्तारमा योजना ल्याएकोमा धन्यवाद दिँदै ए डिभिजन लिगको लागि उत्तरोत्तर प्रगतिको कामना दिए ।

यस्तै राइट ब्याक विराजले च्यासलले फुटबल खेल्ने योजना राम्रो ल्याएका कारण क्लबमा आवद्ध भएको बताए ।

यता, प्राविधिक निर्देशक लि मान्सनले अवसरका लागि क्लबलाई धन्यवाद दिँदै आफ्नो २५ वर्षे अनुभवलाई बढाउँदै क्लबलाई फुटबल अर्को स्तरमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले काम गर्न पनि उत्साहित रहेको बताए ।

यसअघि च्यासलले युथ एकेडेमीको लागि पुष्प सदन माध्यमिक विद्यालयसँग सम्झौता गरेको थियो । २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिगको लागि च्यासलले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनसँगको सम्झौता नविकरण गरेको छ ।

को हुन् च्यासलका प्राविधिक निर्देशक ली मान्सन

स्कटलल्यान्डका लि मान्सन पछिल्लो २५ वर्षदेखि फुटबल प्रशिक्षणमा सक्रिय छन् । उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रूपमा आबद्ध थिए ।

उनीसँग फिलिपिन्सको पुरुष यु–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।

मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको रोटना र क्विन अफ दी साउथबाट खेलेका थिए उनले अमेरिकाको रिचमण्ड किकर्सबाट फुटबल खेलेका थिए ।

रमेश सुवेदी/ न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्