ठूलो दुर्घटनाबाट बचेको बुद्ध एअरको विमान आज बिहानैबाट सेवामा फर्कियो

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १२ : १७


सोमबार ठूलो दुर्घटनाबाट बचेको बुद्ध एयरको विमान मंगलबार बिहानैबाट सेवामा फर्किएको छ। प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअर बिहानैबाट संचालनमा आएको कम्पनीले जनाएको छ।

कम्पनीका एक अधिकारीका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए। सो क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको उनको भनाइ छ।

सोमबार के भएको थियो?
सोमबार विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एअरको विमान काठमाडौंमा फर्काएर फोर्स ल्यान्डिङ गरिएको थियो। सो विमान सकुशल अवतरण भएसँगै त्यसमा सवार ७३ यात्रु र चालकदलका सदस्यहरुको ज्यान जोगिएको थियो।

बुद्ध एअरको सो जहाज क्याप्टेन आङ्गेलो शेर्पाले उडाएका थिए। ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज अवतरण हुन सकेको थिएन। त्यसपछि उक्त ७३ यात्रु सवार जहाज पुनः काठमाडौं नै फर्किएको थियो।

काठमाडौं फर्किँदासम्म पनि विमानको समस्यामा सुधार नआएपछि विमान काठमाडौंकै आकाशमा घुमिरहेको थियो। सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो।

विमानको एउटा पांग्रा नखुलेका कारण विमान अवतरण हुन सकेन र केही समय ‘झन्डै २ घण्टा’ आकाशमै होल्ड हुन परेको थियो।

काठमाडौं आएपछि आकाशमा झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रूपले अवतरण गरेको थियो। बुद्ध एअरका अनुसार काठमाडौंको आकाशमै विमान होल्ड गर्नुको उद्देश्य विमानको इन्धन कम गर्नु थियो जसले विमान दुर्घटना हुन कम गर्दछ।

यो पनिः क्याप्टेन आङ्गेलो शेर्पा जसले आज ७३ यात्रु सवार विमान दुर्घटना हुनबाट जोगाए

– बुद्ध एयरका यात्रु प्रताप भन्छन्ः बाँचियो भने भेटौला भन्दै परिवारलाई म्यासेज पठाएँ

– बुद्ध एयरका यात्रु भन्छन्ः रुवाबासी चल्यो, ज्यानको माया मारेका थियौं, भगवानले बचाए!

 


प्रतिक्रिया दिनुहोस्