दक्षिण कोरियामा कुकुरको मासुमाथि प्रतिबन्ध लगाउने तयारी

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : १५


दक्षिण कोरियाले कुकुरको मासुमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। राष्ट्रपति मुन जाय इन आफैं कुकुरको मासु खपतमा प्रतिबन्ध लगाउने पक्षमा देखिएका हुन्।

बीबीसीका अनुसार अधिकांश कोरियाली नागरिकले कहिल्यै कुकुरको मासु खाएका छैनन् र हालैका वर्षहरूमा यसको माग घटिरहेको छ।

तर वर्षेनी दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मारिने अनुमान गरिन्छ। प्रधानमन्त्रीसँगको एउटा भेटघाटमा राष्ट्रपति मुनले प्रतिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेका थिए।

कुकुरलाई माया गर्ने भनेर चिनिएका राष्ट्रपतिले पूर्ण प्रतिबन्धको बारेमा बोलेको भने यो पहिलो पटक हो। प्रधानमन्त्रीले अलपत्र छोडिएका जनावरहरूको सुरक्षाका सम्बन्धमा गरिएका नयाँ व्यवस्थाहरूबारे जानकारी गराएपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए।

दक्षिण कोरियामा कुकुर र बिरालोलाई क्रूर तरिकाबाट मार्न नपाइने कानुन छ तर त्यसको मासु खान प्रतिबन्धित छैन। तर हालैका वर्षहरूमा मानिसहरूले कुकुर पाल्न थालेपछि बिस्तारै कुकुरको मासु खान छोड्न थालेका छन्।

त्यस कारण त्यहाँका तीन ठूला कुकुरको मासु केन्द्रहरू बन्द भइसकेका छन्। सन् २०२० को एउटा सर्वेक्षणमा ८४ प्रतिशत कोरियालीले कहिल्यै कुकुरको मासु नखाएको वा भविष्यमा नखाने बताएका थिए।

सर्वेक्षणले ५९ प्रतिशत कोरियालीले कुकुरको मासु खान प्रतिबन्ध लगाउने पक्षमा रहेको देखाएको थियो। कुकुरको मासुमा प्रतिबन्धको माग गरिरहेका पशु अधिकार संस्थाहरूले मुनको भनाइलाई स्वागत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्