एमालेले भीम रावललाई बनायो १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजक

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ४४


काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने कार्यदलको संयोजकमा उपाध्यक्ष रावललाई तोकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

यसअघि उक्त १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि छ सदस्यीय कार्यदल गठन गरिएको थियो। तर, उक्त कार्यदलमा कसैलाई पनि संयोजक तोकिएको थिएन।

यस्तै, बैठकले कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरेललाई थप गर्ने निर्णयसमेत गरेको छ। कार्यदलमा पार्टी उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, गोकर्ण विष्ट, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र टोपबहादुर रायमाझी रहेका छन्।

नेता भट्टराईले कार्यदलको बैठक भोलि बस्ने बताएका छन्।

‘पार्टीका प्रदेश, जिल्ला र तहगत कमिटीको विवाद समायोजन गर्न बनेका कार्यदल रहेका छन्’, उनले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले कहाँकहाँ समस्या देखिएका छन्, त्यसको समाधानका लागि कार्यदललाई जिम्मेवारी दिनुभएको छ।’

देशभरि कहाँकहाँ १० बुँदे सहमति कार्यान्वयन भएको छैन, त्यहाँ कार्यदलले सहजीकरण गर्ने उनको भनाइ छ।

मोर्चा र जनवर्गीय संगठनमा १० बुँदे कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेल तथा मोर्चा फाँटका प्रमुख गोकर्ण विष्ट र टोपबहादुर रायमाझी कार्यदलले नै जनसंगठनको विवाद समाधान गर्ने नेता भट्टराईले बताए।

महाधिवेशन अगावै नै विवाद देखिएका ठाउँको समाधान गरेर आउने अध्यक्ष ओलीले निर्देशन दिएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्