एमबाप्पे नेमारसँग रिसाएः भने त्यसले मलाई पास नै दिएन

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ५४


फ्रान्सेली युवास्टार केलिएन एमबाप्पे आफ्नै क्लबका स्टार खेलाडी नेमार जुनियरसँग रिसाएका छन्।

शनिबार पीएसजी र मोन्टेपिलरबीच लिग वानमा प्रतिस्पर्धा भएको थियो। सो खेलमा पीएसजीले २–० को जित निकाल्यो।

एमबाप्पेलाई खेलमा सब्स्टिट्युट गरिएको थियो। एमबाप्पेको स्थानमा मैदान छिरेका जुलिएन ड्राक्सलरले गोल गरेपछि एमबाप्पेले आफ्नो असन्तुष्टी अर्का खेलाडी इड्रिसा ग्युइएसँग राखेका थिए।

टेलिभिजन क्यामेरामा कैद एमबाप्पेले नेमारलाई इंगित गर्दै ‘त्यसले मलाई बल पास दिएन’ भनेको प्रस्ट सुन्न सकिन्छ। पछिल्लो चार खेलमा एमबाप्पेले गोल गर्न सकेका छैनन्। उनको स्थानमा ड्राक्सलरलाई खेलको ८८ औं मिनेटमा ल्याइएको थियो।

सो खेलमा एमबाप्पले ३ वटा गोल गर्ने राम्रो सम्भावना थियो तर उनी गोल गर्नबाट चुकेका थिए। एमबाप्पे पीएसजी छाडेर रियल मड्रिड जान चाहन्छन्। यसै सिजन मड्रिडले एमबाप्पेको लागि राम्रो अफर गरेको थियो तर च्याम्पियन्स लिग जित्ने उद्देश्यका साथ पीएसजीले मड्रिडको प्रस्ताव टुक्राएको थियो।

एमबाप्पले आगामी सिजन पीएसजीबाट नखेल्ने संकेत दिइसकेका छन्। मार्का


प्रतिक्रिया दिनुहोस्