आफ्ना श्रीमान्‌ले चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न माग गर्दै सांसदले दिइन् निवेदन

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ३१


सप्तरी । प्रदेश २ की एक सांसदले आफ्ना श्रीमान्‌ले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाह गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन्।

प्रदेश सांसद प्रमिला यादवले आफ्ना स्वकीय सचिवसमेत रहेका श्रीमान् अशोक यादव चढ्ने स३प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाह गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन्।

अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी थिइन्।

निवेदन सोमबार लिएर अशोक यातायात कार्यालय लहान पुगेका थिए। कार्यालयले कर छुट गर्न नमिल्ने बताएको छ। कार्यालय प्रमुख मीन भट्टराईले अर्थमन्त्री आए पनि कर छुट गर्न नसकिने बताए। उनले कसैको यातायातको कर छुटका लागि सरकारको मन्त्रीस्तरकै निर्णय हुनुपर्ने जानकारी अशोकलाई दिएको बताए।

कार्यालयले सांसदको पत्रमा कर छुट नगरेपछि अशोकले करबापतको रकम तिरेको भट्टराईले जानकारी दिएका छन्।

प्रमिला नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद हुन्। अशोक पूर्व निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको छोरा र प्रमिला बुहारी हुन्।


प्रतिक्रिया दिनुहोस्