बिरामीलाई विकल्प हेलिकोप्टर

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : २७


सिन्धुपाल्चोक। हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दा कोही बिरामी परे हत्तपत्त हेलिकोप्टर कम्पनीको नम्बर खोज्छन्।

गत असार र साउनमा मेलम्ची खोलामा आएको बाढीले मेलम्चीबाट हेलम्बु र पाँचपोखरी गाउँपालिका जोड्ने सबै सडक बगाएपछि यातायातका साधान नचल्दा उनीहरूको यातायातको साधनको विकल्प नै हेलिकोप्टर बन्ने गरेको छ।

सामान्य अवस्थाका मानिस पैदलै ओहोरदोहोर गर्ने भए पनि हेलम्बु र पाँचपोखरी थाङपालदेखि बिरामीलाई बोकेर ल्याउन सम्भव हुँदैन। विशेषगरी गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर नै चार्टड गरेर अस्पताल पु-याउने गरेको हेलम्बुकी विवि तामाङ बताउँछिन्।

बाढीले सडक बगाएपछि हेलम्बु क्षेत्रका मेलम्ची घ्याङ, नाकोते, तिम्बु, तार्केघ्याङ, शेर्माथाङ, इचोक, किउल र माहांकाल र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका वडा नम्बर १, २ का बरुवा र बासखर्काबासी मारमा परेका छन्। अन्य ठाउँमा भने सडक सञ्चालनमा आएसँगै एम्बुलेन्स चल्न थालेको छ। तामाङ भन्छिन्, ‘बाटो छैन, हेलिकोप्टरमा खर्च गर्न नसक्नेले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ।’

जसरी पनि ज्यान त बचाउनु पर्यो निः शेर्पा

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमफुन्जो शेर्पाले धेरैले हेलिकोप्टरबाट सेवा लिइसकेको बताए। ‘कच्ची सडक त्यसमाथि वर्षायाममा बाढीले भत्काएपछि निकै कठिन भएको छ। जस्तो सुकै अवस्था भए पनि बिरामीलाई त बचाउनै पर्यो,’ शेर्पाले भने, ‘हाम्रो बिरामी मर्न लागे कसरी हुन्छ बचाउनु पर्यो भनेर फोन आउँछ, अनि हेलिकोप्टरबाट भए पनि उद्धार त गर्ने पर्यो।’

सुत्केरी उद्धारमा हेलिकोप्टर प्रभावकारी

गत भदौमा पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङकी गर्भवती लक्ष्मी तामाङको हेलिकोप्टरमार्फत उद्धार भयोे। स्थानीय स्वास्थ्य चौकीमा दुई दिनदेखि भर्ना भएकी २२ वर्षीया तामाङको स्वास्थ चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको वडा नम्बर ३ का अध्यक्ष ङिमा छिरीङ तामाङले बताए।

पाठेघरको मुख पुरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिलाका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यक्रमअनुसार उद्धार गरिएको थियो।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यक्रमअनुसार उद्धार गरिन्छ भने अन्य रोगका बिरामीलाई भने स्थानीयको सहयोग आवश्यक हुन्छ।

एम्बुलेन्समा बिरामी ल्याउन सम्भव नहुँदा हेलिकोप्टर चार्टड गर्नुपर्ने बाध्यता छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन लागिपरेको शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस्