बलिउडमा रौनकः एकैदिन १६ फिल्मको प्रदर्शन हुने, अक्षयका मात्रै ६ फिल्म

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : ००


काठमाडौं । भारतको महाराष्ट्र सरकारले २२ अक्टोवरबाट सिनेमा हल खोल्न दिने निर्णय गरेपछि बलिउडमा रौनक छाएको छ।

डेढ वर्षयता बन्द भएका हलहरू खुल्ने भएपछि बलिउड निर्माताहरूले धमाधम आफ्नो फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन्।

आइतबार मात्रै बलिउडका ठूला ब्यानर र बजेटका मानिने १६ वटा फिल्मले प्रदर्शन मिति तोकेका छन्।

जसमा यशराज फिल्मस्देखि लिएर साजिद नाडियावाला प्रोडक्शनसम्मका, आमिर खान, अक्षय कुमारदेखि लिएर रणवीर सिंहसम्मका स्टारका फिल्म छन्।

सबैभन्दा बढी प्रदर्शन मिति तोकिएका फिल्म अक्षय कुमारका छन्। अक्षयका ६ वटा फिल्मले प्रदर्शन मिति तोकेका हुन्।

जसमा सूर्यवंशी तिहारमा प्रदर्शन हुँदैछ। अक्षयको अर्को फिल्म पृथ्वीराजले २१ जनवरी, बच्चन पाण्डेले ४ मार्च, अतरंजी रे ६ अगस्ट, रक्षाबन्धन ११ अगस्त, रामसेतु २४ अक्टोवर २०२२ छन्।

त्यसैगरी प्रदर्शनको मिति तोकिएका फिल्ममा १९ नोभेम्बरमा सैफअलि खान र रानी मुखर्जी अभिनित बन्टी और बब्ली–२, २६ नोभेम्बरमा जोन अब्राहमको सत्यम् जयते २, आयुष्मान खुराना र वाणी कपुर अभिनित चन्डीगढ करे आशिकी १० डिसेम्बर, रणवीर सिंह र दीपिका पादुकोण अभिनित ‘८३’ २५ डिसेम्बर र शाहिद कपुरको ‘जर्सी’ ३१ डिसेम्बरमा प्रदर्शन हुने भएका छन्।

२१ जनवरी २०२२ मा अक्षय कुमार र पूर्वमिस वल्र्ड मानुषी छिल्लर अभिनित पृथ्वीराज प्रदर्शन हुने भएको छ।

आमिर खानको प्रतीक्षित फिल्म लालसिंह चड्ढा १४ फेब्रुअरीमा प्रदर्शन हुनेछ भने २५ फेब्रुअरीमा रणवीर सिंह र सालिनी पाण्डे अभिनित जोयस भाइ जोरदार प्रदर्शन हुनेछ।

अक्षय कुमारको बच्चन पाण्डे ४ मार्चमा हलमा आउने छ भने १८ मार्चमा सञ्जय दत्त र रणवीर कपुर अभिनित शमशेरा प्रदर्शन हुनेछ।

कार्तिक आर्यन र कियरा वाणीको भुलभुलैया–२ मार्च २५ मा लाग्ने छ। बहुप्रतीक्षित केजिएफ-२ ले अप्रिल १४ लाई मिति तोकेको छ।

२९ अप्रिलमा अजय देवगण र रकुल प्रीत अभिनित मे डे रिलिज हुनेछ। टाइगर श्राफको हिरोपन्थी–२ ले ६ मेलाई मिति तोकेको छ।

अक्षय कुमार र भूमि पेडनेगर अभिनित रक्षाबन्धन ११ अगस्तमा रिलिज हुने छ भने अक्षयकै अर्को फिल्म रामसेतु २४ अक्टोवरमा दर्शकमाझ आउने छ।

महाराष्ट्र छाडेर रिलिज गर्दा बिजोग

कोरोनाको दोस्रो लहरपछि भारतका महाराष्ट्रबाहेक अन्य स्थानका हल गत ३० जुलाईमै खुलेका थिए। त्यतिबेला केही हलिउड फिल्म मात्रै प्रदर्शन भए। अक्षय कुमारको बेलबटम १९ अगस्तमा ओटीटीसहित हलमा समेत रिलिज भएको थियो। तर व्यापार राम्रो गर्न सकेन।

एक महिनामा सो फिल्मले ३० करोड भारुको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अमिताभ बच्चन अभिनित चेहेरेले हलबाट जम्मा दुई करोड भारु कमाएको बताइन्छ। कंगना रनावतको थलाइवी १० सेक्टेम्बरमा हलमा रिलिज भएको थियो, तर फिल्मले कुनै कमाल गर्न सकेन।

भारतीय फिल्मको प्रमुख बजार महाराष्ट्रलाई मानिन्छ। महाराष्ट्र छोडेर अन्य प्रदेशमा मात्रै फिल्म रिलिज गर्दा लगानीसमेत उठाउन मुस्किल पर्ने तथ्य देखिएको छ।

त्यसैले फिल्मकर्मीहरूले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई भेटेर हल खुलाउन आग्रह गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस्