जलविद्युत आयोजनाको सुरुङमा पुरिँदा युवकको मृत्यु

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : ३७


खोटाङ । सोलुखुम्बुको लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीका २८ वर्षीय रामकृष्ण राईको मृत्यु भएको छ।

सोमबार बिहान ३ बजे जलविद्युत आयोजनाको सुरुङभित्र काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुरिँदा राईको घट्नास्थलमै मृत्यु भएको हो।

उनी करिब महिना दिनअघि मात्र जलविद्युत आयोजनाको काम गर्न सोलुखुम्बु पुगेका थिए। आफन्त घट्नास्थल पुगेपछि मात्र राईको शव उठाउने तयारी गरिएको लिखु जलविद्युत आयोजनाका इन्जिनियर गणेश शर्माले बताए।

सुरुङभित्र काम गरिरहेको अवस्थामा ढिस्को खस्दा रामकृष्ण करिब चार सय मिटर तल खसेका थिए। सुरुङमा ढिस्कोले पुर्दा दोलखा जिरीका २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङका २८ वर्षीय प्रविन्द्र राई घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारको लागि हेलिकप्टरबाट केएमसी अस्पताल काठमाडौं पठाइएको छ। जानकारी पाएलगत्तै प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरीको टोली घट्नास्थल पुगेको छ।

खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले भने घटनाका विषयमा जलविद्युत आयोजनाका प्रतिनिधिले परस्पर बाझिने कुरा गरेको बताए । ‘घरी सुरुङमा ढिस्कोले पुरिएको कुरा, घरी चिया खान जाँदै गर्दा लडेको भन्ने कुरा आयो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘घटनाको यथार्थ विषय बाहिर आउनु पर्छ । पीडितका तर्फबाट न्यायोचित क्षतिपूर्ति उपलव्ध गराउनु पर्छ भन्ने कुरा अघि बढाएको छौं।’

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्