अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ।
हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को एक अत्याधुनिक रुसी क्षेप्यास्त्र रक्षा प्रणाली खरिद गर्न कसैले रोक्न नसक्ने बताएपछि अमेरिकाले रुसबाट हतियार खरिद नगर्न भनेको थियो।
अमेरिकी विदेश मन्त्रालयले टर्कीले रुसबाट हतियार खरिद गरेमा आफूले प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकाका अनुसार टर्कीले रुसबाट खरिद गर्ने एस–४०० क्षेप्यास्त्र प्रणाली अमेरिकाको एफ–३५ विमानको लागि खतरा हो।
टर्कीले भने अमेरिकालाई मुखभरीको जवाफ फर्काएको छ। आफ्नो आन्तरिक मामिलामा अमेरिकाले दख्खल दिन नहुने टर्कीको राष्ट्रपति एर्दोआनको भनाइ छ।
एर्दोआनले भनेका छन्,‘हामी को बाट कस्तो रक्षा प्रणाली खरिद गर्दछौं भनेर भविष्यमा हामीलाई कसैले दख्खल दिने छैन। कसैले हाम्रो आन्तरिक विषयमा हस्तक्षेप गर्न सक्दैन। हाम्रो बारेका हामी आफैंले फैसला लिन्छौं। टर्की ८ करोड ४० लाख जनसंख्या भएको देश हो। हामी रुसी रक्षा प्रणाली खरिद गर्नेमा दृढ छौं। कसैले हस्तक्षेप नगरे हुन्छ।’
टर्कीले यसअघि पनि रुसबाट एस–४०० क्षेप्यास्त्र रक्षा प्रणाली खरिद गरेको थियो। हाल यस्तै अर्को रक्षा प्रणाली टर्कीले रुसबाट खरिद गर्न लागेपछि अमेरिकाले हतियार खरिद नगर्न भनेको हो। बीबीसी