आज कृषि कानुनविरुद्ध किसानको भारत बन्द

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : १५


भारतमा केन्द्र सरकारले ल्याएको नयाँ कृषि कानुनविरुद्ध आज ४० भन्दा बढी किसान संगठनले देशव्यापी ‘भारत बन्द’को आह्वान गरेका छन्। आजको बन्द बिहान ६ बजेदेखि सुरु भएर दिउँसो ४ बजेसम्म लागू हुनेछ।

संयुक्त किसान मोर्चाले सबै सामाजिक संगठन र ट्रेड युनियनलाई भारत बन्दको समर्थन गर्न अपिल गरेका छन्। कयौं विपक्षी पार्टीले पनि किसानको बन्दमा ऐक्यवद्धता जनाएका छन्।

भारत बन्दको असर उत्तर भारतको पन्जाब र हरियाणादेखि दक्षिण भारतको केरलासम्म देखिएको छ। समाचार संस्था एएनआईका अनुसार केरलाको राजधानी तिरुवन्तपुरमा पसलहरु बन्द देखिएका छन् भने सडक सुनसान छन्।

ट्रेड युनियनसँग आवद्ध एलडीएफ र यूडीएफले पनि भारत बन्दको समर्थन जनाएका छन्। अमृतसरसँगै पन्जाबका कयौं शहरमा किसानले बन्द गराएका छन्। अप्रिय घटना हुन नदिनको लागि प्रहरी तैनाथ गरिएको छ।

किसानहरुले आफूले दिएको बन्दको समयसीमा अगावै दोकान खोलिए र सवारी चलाइए त्यसको नराम्रो नतिजा निम्तने चेतावनी दिएका छन्।

भारतमा जारी नयाँ कृषि कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ।

कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन्।

यो कानुन फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ। तर केन्द्र सरकारले किसानलाई नै फाइदा हुने बताउँदै आएका छन्। यद्यपी किसानहरु ढुक्क छैनन्। बीबीसीहिन्दीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्