व्यवसायीलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ४२


विराटनगर । उच्चअदालत विराटनगरको गेटमा एक व्यापारीलाई खुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन्।

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका ८ मा बस्दै आएका ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार खुकुरी हानेर एक जना फरार भएका थिए।

प्रहरीले फरार विराटनगर ६ घर भएका २५ वर्षीय विमल कार्कीलाई प्रहरीले कोसी अस्पतालको गल्लीबाट नियन्त्रणमा लिएको हो। उनी खुकुरी प्रहार गरेर कोसी अस्पतालतिर भागेका थिए।

खुकुरी प्रहारबाट लामाको हात, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। लामाको उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।

उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।

अदालतमा प्रवेश गर्दै गर्दा गेटमा कार्कीले लामालाई खुकुरी प्रहार गरेका थिए। लामा मोरङको कटहरी गाउँपालिका( ६ मा रहेको मोरङ राजधानी इँटा उद्योगका लगानीकर्ता हुन्।

इँटा उद्योगको विषयलाई लिएर पछिल्लो समय उत्पन्न विवादले घटना भएको प्ररारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यसअघि उद्योगका संचालक मोहम्मद साजित रहेका थिए। ‘उद्योगमा साजित र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर रहेछ । एसपी जीसीले भने साजितकी श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए। ५० प्रतिशत मात्र शेयरमा बसेका साजितले सो शेयरसमेत पाँच वर्षका लागि लामालाई लिजमा दिएका थिए’, प्रहरी प्रमुख जीसीले भने।

शेयरबापत लामाले साजितलाई वार्षिक ५० हजार इँटा दिने सहमति भएको थियो। लामाले इँटाको जिम्मा लिएपछि पहिलो पटक इँटा उत्पादन भएको थियो। प्रहरीका अनुसार उक्त उद्योगमा मोहमद साजित, रमेश राजवहाक र कमानसिंह लामा रहेका थिए। उद्योग घाटामा गएपछि तीन जना मिलेर चलाउने सहमति भएको थियो।

तीन जना मिलेपछि पहिलो पटक इँटा निकालेर बेच्ने तयारी भइरहेका बेला लामामाथि खुकुरी प्रहार भएको छ। किटानी जाहेरी परेपछि मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। अर्का व्यवसायी साजित मोहमदलाई पनि पक्राउ परिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्