जसपा विभाजनको ३१ दिन : प्रदेश २ का मुख्यमन्त्रीले लिएनन् विश्वासको मत

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : १३


जनकपुरधाम । जनता समाजवादी पार्टी विभाजनको ३१ दिन बितिसक्दा पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिएका छैनन्।

जसपा विभाजन भएको भए ३० दिनभन्दा बढी समय भइसक्दा पनि मुख्यमन्त्री राउतले विश्वासको मत लिन नलिई संवैधानिक व्यवस्थाको उल्लंघन गरेका भनेर आलोचना भइरहेको छ।

निर्वाचन आयोगले ९ भदौमै प्रदेश २ को सात्तारुढ दल जसपा विभाजन भई लोकतानित्रक समाजवादी पार्टी (लोसपा) छुट्टै दर्ता भएको जनाएको थियो।

९ भदौमै निर्वाचन आयोगले लोसपालाई दलको मान्यता दिई अध्यक्ष महन्थ ठाकुरलाई प्रमाणपत्र दिएको थियो।

संविधानको धारा १८८ को उपधारा २ अनुसार सत्ता रुढ दल विभाजन भएकामा वा सत्ता साझेदार दलहरूमध्ये कुनै दल समर्थन फिर्ता लिएमा ३० दिन भित्रमा सरकारले विश्वासको मत लिनुपर्ने उल्लेख छ।

निर्वाचन आयोगले ९ भदौमै लोसपालाई मान्यता दिएको हिसाबले प्रदेश २ का मुख्यमन्त्री राउतले ९ असोजभित्रै विश्वासको मत लिनुपर्ने हो। तर, आज आइतबार ३१ दिन भइसक्दा पनि प्रदेश सरकारले विश्वासको मतको प्रक्रिया पनि सुरु गर्न सकेको छैन । विश्वासको मत लिनलाई सरकारले प्रदेश सभालाई जानकारी गराउनुपर्ने हुन्छ।

प्रदेश ३ मा ३ साउनदेखि नै प्रदेशको छैटौँ अधिवेशन समाप्त भइसकेको अवस्थामा प्रदेश सरकारले सातौँ अधिवेशन आह्वान गर्न प्रदेशसभालाई सात दिनअघि लिखित पत्र पठाउनुपर्ने प्रवधान छ। तर, प्रदेश सरकारले अहिलेसम्म सभालाई कुनै पत्र नपठाएको प्रदेशसभा सचिवालयका सदस्य रंजितकुमार यादवले बताए।

जनकपुरपस्थित निर्वाचन आयोग प्रदेश २ का प्रमुख पुष्पा झाले पनि निर्वाचन आयोगले दललाई दिएको प्रमाणपत्रको मितिले ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने बताइन्।

यता, लोसपाका प्रदेश सांसद परमेश्वर साहले कानुनको पालन गराउने सरकार आफ्नै कानुन र संविधान मिचेको आरोप लगाए। ‘संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री राउतले ९ असोजमै विश्वासको मत लिनुपर्ने थियोु, उनले भने, ‘उहाँ शक्ति र सत्ताको बलमा संविधान मिचेर अगाडि बढ्दै हुनुहुन्छ।’

अधिवक्ता राजकुमार महासेठले पनि संवैधानिक व्यवस्थाअनुसार सत्तारुढ दल विभाजन भएको र सत्तारुढ दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्रमा सरकारले सभाबाट विश्वासको मत लिनुपर्ने बताए ।

यता, सत्तारुढ दलका सांसदले भने दुई पार्टीका जनप्रतिनिधिहरूले सनाखत गरेको अन्तिम मिति अर्थात् २२ भदौदेखि ३० दिनमा विश्वासको मत लिने जनाएका छन् ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले सरकार दुई तिहाइभन्दा बढी बहुमतको रहेको भए पनि संविधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने बताए।

‘अगामी २० असोजसम्म मुख्यमन्त्री राउतले विश्वासको मत लिने विषयमा छलफल भएको छ’, मन्त्री साहले भने, ‘दल सनाखत सम्पन्न भएको मितिले ३० दिनभित्र सरकारले विश्वासको मत लिन्छ। सरकारले संविधानको कुनै उल्लंघन गरेको छैन।’


प्रतिक्रिया दिनुहोस्