एमालेमा टुंगिएन उपाध्यक्षको संख्या, तीनदेखि ७ जनासम्म राख्न प्रस्ताव

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : १०


काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको केन्द्रीय कमिटी बैठकमा तीनदेखि सात जनासम्मको प्रस्ताव आएको र यो अध्ययनकै क्रममा रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

यद्यपि सात जनाको प्रस्ताव गरिएकोमा तीन जना उपाध्यक्षमात्र हुने प्रस्ताव विधान संशोधनमा राखिएको छ। अन्य पदाधिकारीको संख्या भने नवौं महाधिवेशनअनुसार गर्ने टुंगो लागेको भट्टराईले बताए।

‘सात जना उपाध्यक्ष राख्ने बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने क्रममा सकारात्मक कुरा आएको छ । तर यसले कमिटीमा के प्रभाव पर्दछ त्यसलाई फेरि अध्ययन गरेर विधान महाधिवेशनसम्म ठोस धारणा बनाइनेछ’, उनले भने।

उनका अनुसार विधान संशोधन प्रस्तावमा तीन जना उपाध्यक्षको प्रस्ताव गरिएको छ। ‘अहिले तीन जना उपाध्यक्षको प्रस्ताव आएको छ। बैठकले उपाध्यक्षको सात र पाँच जनाको प्रस्ताव आएकाले अहिल्यै नै हामी निर्णयमा पुगेका छैनौं। थप छलफल स्थायी कमिटीमा गर्दछौ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्