तालिबानको बर्बरता: अपहरणका चार आरोपीलाई हत्या गरी चोकमा झुन्डाइयो!

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ५ : ०३


एजेन्सी । तालिवानले अपरहणको आरोप लागेका चार जनालाई गोली हानी हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थलमा झुन्डाएका छन्।

तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा पछिल्लो घटना सार्वजनिक भएको हो।

हत्या गरेपछि तालिवान लडाकुले ती कथित अपहरणकारीमध्ये एक जनाको शव बजारको व्यस्त चोकमा प्रदर्शन गरेका थिए। स्थानीय व्यापारी वाजिर अहमद सिद्दिकीका अनुसार चार शबमध्ये एउटालाई क्रेनमा झुन्डाइएको थियो भने अन्य शव सहरका अन्य चोकमा प्रदर्शनमा राखिएको थियो।

आगामी दिनमा अपहरणका घटना नहुन भनेर चोक चोकमा शव प्रदर्शन गरिएको हेरातका सहायक गभर्नर मौलवी शैरले बताए। अपहरणकारीको तालिवान लडाकुको कारबाहीमा मारिएको उनले बताए। आरोपित व्यक्तिले एक व्यापारी र उनका छोरालाई अपहरण गरेर फिरौती रकम माग गरेको बताइएको छ।

दुई दिनअघि तालिवानका वरिष्ठ नेता मुल्लाह नोरुद्दिन तुराबीले कडा सजाय र मृत्युदण्ड कायमै रहने बताएका थिए। ‘कठोर सजायका लागि हामीलाई धेरैले आलोचना गर्छन्। यो आआफ्नो देशको कानुनमा निर्भर हुन्छ,’ पूर्व कानुनमन्त्रीसमेत रहेका नोरुद्दिनले भनेका थिए, ‘हाम्रो कानुनबारे कसैले केही भन्न मिल्दैन। हामी कुरानमा आधारित रहेर कानुन बनाउँछौं।’

दोषिलाई दिइने अमानवीय सजाय र महिलामाथि लगाइएको प्रतिबन्धका कारण तालिवानको पहिलो शासनकाल विश्वमै कुख्यात थियो। सन् १९९६ मा तालिवानको पहिलो शासनकालमा बलात्कार अभियोग लागेका व्यक्तिको अंग छेदन गरिन्थ्यो भने सामान्य अपराध गर्नेलाई पनि सार्वजनिक स्थलमा लगेर हात र खुट्टा काटिन्थ्यो।

महिलाले सम्पूर्ण शरीर ढाक्ने बस्त्र लगाउनुपर्दर्थ्यो। महिलालाई विद्यालय जान र घरबाट एक्लै बाहिर निस्कन रोक थियो। तालिवानले सीमान्तकृत र अल्पसंख्यकको अधिकार पनि कटौती गरेका थिए।


प्रतिक्रिया दिनुहोस्