इपिएल : वर्षाले प्रभावित खेलमा पोखरा र भैरहवाले अंक बाँडे

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ५३


वर्षाका कारण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल रद्द भएको छ।

पोखराले १० ओभर एक बलमा ६५ रन बनाएर सात विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो।

वर्षा नरोकिएपछि पोखरा र भैरहवाबीचको खेल रद्द भएको हो। वर्षाले बाधक खेलमा दुवै टोलीले एक-एक अंक बाँडे।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा भैरहवाका तीब्र गतिका बलर दुर्गेश गुप्ताको कसिलो बलिङमा निरीह बनेको थियो । तीन ओभर बलिङ गरेका दुर्गेशले एक मेडन ओभरसहित १६ रन खर्चिएर तीन विकेट लिएका थिए।

यस्तै धमिका प्रसाद, अविनाश बोहरा र तुलबहादुर थापाले एक(एक विकेट लिएका थिए।

पोखराका एसेला गुणारत्नेले सर्वाधिक २३ रन जोडे । यस्तै विवेक यादवले १६ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्।

पोखराका रिचार्ड लेभी, कप्तान विनोद भण्डारी, लोकेश बम र केसरिक विलियम्स डक आउट भएका थिए।

शनिबारबाट सुरु भएको इपिएल प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभन विजयी भएको थियो। काठमाडौंले सहरी प्रतिद्वन्द्वी ललितपुर प्याट्रियट्सलाई सात विकेटले पराजित गरेको थियो।

यस्तै आज भएको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गर्यो।

प्रतियोगिताको तेस्रो दिन तथा सोमबार दुई खेल हुनेछ। पहिलो खेलमा काठमाडौं र विराटनगर तथा दोस्रो खेलमा चितवन र भैरहवा भिड्ने छन्।


प्रतिक्रिया दिनुहोस्