चिकित्सकको लापरवाहीले झापामा ११ महिने शिशुको मृत्यु, अस्पतालमा तोडफोड

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ४ : ०७


झापाको दमकमा एडभान्स अस्पतालमा तोडफोड भएको छ। चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै पीडित परिवार तथा आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

तोडफोडमा संलग्न एक दर्जन बढीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। तोडफोडबाट अस्पतालको संरचनामा क्षति पुगेको छ।

झापा कमल गाउँपालिका १ का ११ महिने बालक सिर्जन खड्काको शुक्रबार अस्पतालमा मृत्यु भएको थियो।

भएको के हो?

परिवारका सदस्यकाअनुसार विरामी बालक कोरोना संक्रमित थिए। निमोनिया पनि थियो। दमकको एडभान्स अस्पताल लगियो। डाक्टर अनिल थापाले विरामी हेरे। कोभिड संक्रमित भएकाले भर्ना गरेर राख्न मानेनन्। अरु बालबालिकामा सर्ने भएकाले घरमै लैजान सुझाए।

अन्य अस्पतालमा रिफर पनि गरिएन। तर डाक्टर थापाले बालकलाई आधा घण्टाको फरकमा दुइटा सुई स्थानीय स्वास्थ्यकर्मीबाट लगाउन सिफारिस गरे। तर स्थानीय स्वास्थ्यकर्मीले तीन मिनेटको फरकमै लगाइदिएको पीडित परिवारले बताएको छ।

‘तीन मिनेटमै दुइटा सुई लगाएपछि बालकलाई गाह्रो भयो। हामी बाबु बोकेर फेरि अस्पताल गयौं। अस्पताल आएको केही समयमा बाबुको मृत्यु भयो। डाक्टरले लापरवाही गर्‍यो। हिजै हाम्रो बच्चा राखिदिएको भए मर्दैनथ्यो’ मृतकका आफन्त सरोज खड्काले भने।

चिकित्सकको लापरवाहीले बच्चा मरेको भनेर पीडित परिवारले शव पनि उठाउन मानेका छैनन्। हिजोदेखि शव अस्पतालमै छ। खड्काका अनुसार विहान अस्पताल प्रशासनले उनीहरुसँग छलफल गरेको थियो।

तर प्रशासनले आफूहरुको कुरा नसुनेको र स्वास्थ्यकर्मीको मात्रै सुनेको खड्काको गुनासो छ। आफूहरुको कुरा नसुनेको भन्दै पीडित परिवारले अस्पतालमा तोडफोड गरेको हो।


प्रतिक्रिया दिनुहोस्