खेमबहादुरको बयानः श्रीपेच लगाएर देश शासन गर्न मन लाग्यो

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ४ : ०१


नारायणहिटी राजदरबार संग्रहालयमा रहेको श्रीपेच चोर्न खोज्ने एक युवक शुक्रबार पक्राउ परेका थिए। पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती हुन्।

घर्ती शुक्रबार संग्रहालय हेर्न टिकट काटेर भित्र गएका थिए। घर्तीले नारायणहिटी भित्र पुगेपछि राजाहरुले लाउने श्रीपेच चोर्ने प्रयास गरे। उनले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर श्रीपेच राखिएको शोकेस फुटाएपछि सुरक्षामा खटिएका सेनाका जवानले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए।

उनलाई नियन्त्रणमा लिई प्रहरीकहाँ अनुसन्धानका लागि बुझाइएको छ। काठमाडौं प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह भन्छन्,‘प्रारम्भिक बयानमा घर्तीले राजा बन्न मन लागेर श्रीपेच उठाउन खोजेको प्रतिक्रिया दिएका छन्।’

उनले प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ’ भनेर बयान दिएका छन्। उनले अनुसन्धानमा खटिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका हु। हाल प्रहरीको सम्पर्कमा उनका परिवारका सदस्य पनि पुगेका छन् ।

परिवारले उनी मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको प्रहरीलाई जानकारी दिएका छन्। तैपनि, प्रहरीले अन्य कारणबारे पनि अनुसन्धान गरिरहेको छ।

मानसिक समस्या देखिए घर्तीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता हुनेछैन।


प्रतिक्रिया दिनुहोस्