भारतमा नेपाली बालिका बलात्कार गर्ने अभियुक्तलाई फाँसीको सजाय

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  २ : ३१


दार्चुलाःभारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक जनालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ।

चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय एक पुरुषलाई ३ अप्रिल २०२१ मा पक्राउ गरेको भारतीय पत्रिका अमर उजालाले लेखेको छ।

गाउँमा बुवाआमाको मृत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ। पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए।

प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा। ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसीको सजाय सुनाएको हो।

भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार उक्त सजाय सुनाइएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्