कांग्रेसमा सभापतिका उम्मेदवारकै जिल्लामा वडा अधिवेशन अनिश्चित

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : २२


काठमाडौं । नेपाली कांग्रेसको सातौं पटक परिमार्जित कार्यतालिका अनुसार आज (९ असोज) पालिका अधिवेशनको मिति हो । पालिका अधिवेशनको दिनसम्म १३ वटा जिल्लाको भने क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन ।

हालका उपसभापति, महामन्त्रीसहित १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका नताहरूको जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा वडा अधिवेशन नै अनिश्चित बनेको हो । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादकै बीच ९एक वडाबाहेक० वडा अधिवेशन सम्पन्न भइ आज पालिका अधिवेशन सुरु हुँदैछ ।

जिल्ला सभापति कर्ण मल्ल पक्षधरले पार्टी कार्यालयमा आमरण अनशन सुरु गरेको छ । क्रियाशील सदस्यता विवाद कायमै रहेको बेला अधिवेशन सुरु गरेको भन्दै मल्ल पक्षले सुरुदेखि नै विरोध जनाउँदै आएको छ । देउवा र उनको श्रीमती आरजुले चुनाव लडेको कैलालीमा पनि सदस्यता विवाद टुंगोमा पुगेको छैन ।

उपसभापति एवं आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिको जिल्ला धनुषामा मात्रै हैन उनको सिंगो प्रदेश १ का ८ वटा कुनै पनि जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन । सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङको जिल्ला पनि प्रदेश २ कै महोत्तरी हो । नेताहरूले केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेको लामो समय भइसक्यो तर आफ्नै जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा वडा अधिवेशन अनिश्चित बनेको छ ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको जिल्ला सुर्खेतमा पनि सदस्यताको किचलो बाँकी नै छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, मोहतरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा सदस्यता विवाद टुंगिएको छैन ।

क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले ३ असोज धनुषा, कैलालीलगायतका जिल्लामा १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरूबाटै अधिवेशन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।

कार्यदलका संयोजक पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र सदस्य रमेश लेखक पालिका अधिवेशनका लागि गृहजिल्ला गएकाले यसबीचमा सदस्यता विवाद टुंग्याउन खासै काम नभएको छैन ।

कार्यदलका अर्का सदस्य डा.मीनेन्द्र रिजालले सिटौला र लेखक आजै काठमाडौं फर्किने र भोलिबाट काम सुरु हुने बताए । निर्वाचन समितिका अनुसार कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

काठमाडौंमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन १६ असोजका लागि तय गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लाको अधिवेशन भने पूर्व निर्धारित मितिमै गर्ने निर्णय गरेको छ । २१ हिमाली जिल्लामध्ये रसुवा र डोल्पाको भने क्रियाशील सदस्यता टुंगो नलाग्दा वडा अधिवेशन नै हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्