श्रीपेच लुट्न खोज्ने खेमबहादुरलाई ट्रोल गर्दै भन्न थालियो राजा!

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : १०


नारायणहिटी राजदरबार संग्रहालयमा रहेको श्रीपेच चोर्न खोज्ने एक युवक शुक्रबार पक्राउ परेका थिए। पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती हुन्।

घर्ती शुक्रबार संग्रहालय हेर्न टिकट काटेर भित्र गएका थिए। घर्तीले नारायणहिटी भित्र पुगेपछि राजाहरुले लाउने श्रीपेच चोर्ने प्रयास गरे। उनले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर श्रीपेच राखिएको शोकेस फुटाएपछि सुरक्षामा खटिएका सेनाका जवानले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए।

उनलाई नियन्त्रणमा लिई प्रहरीकहाँ अनुसन्धानका लागि बुझाइएको छ। काठमाडौं प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह भन्छन्,‘प्रारम्भिक बयानमा घर्तीले राजा बन्न मन लागेर श्रीपेच उठाउन खोजेको प्रतिक्रिया दिएका छन्।’ प्रारम्भिक अनुसन्धानमा उनको मानसिक अवस्था ठिक नभएको हुनसक्ने प्रहरीको भनाई छ।

यो घटनासँगै खेमबहादुर घर्ती शुक्रबारयता रातारात चर्चामा आएका छन्। घर्तीले श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लागेर आफूले राजा बन्नकै लागि श्रीपेच लगाउन खोजेको बयान दिएका थिए र उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बताएका थिए।

हाल यही बयानका कारण उनी सामाजिक संजालमा ट्रोलको शिकार बनेका छन्। उनको टाउकोमा श्रीपेच लागएर उनलाई सामाजिक संजालमा राजा भन्ने ट्रेन्ड नै चलेको छ।


प्रतिक्रिया दिनुहोस्