क्वाड बैठकको निष्कर्ष सबैलाई चकित तुल्याउने, चीनको नाम नै उल्लेख छैन

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ४३


क्वाड समूह अर्थात् अमेरिका, अस्ट्रेलिया, जापान र भारतको चतर्भुज समूह हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताविरुद्ध बनेको समूहको रुपमा लिइन्छ। ६ महिना अगाडिको पहिलो बैठकमा यिनीहरुले चीनविरुद्धको रणनीति बनाएका थिए।

तर शुक्रबार अमेरिकामा सम्पन्न क्वाड बैठकको निष्कर्षमा चीनको नाम नै उल्लेख छैन। अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र जापानका प्रधानमन्त्री योसिहिदे सुगा अमेरिका पुगेका थिए।

ह्वाइट हाउसमा विभिन्न मुद्दामा यी नेताहरुले छलफल गरेका थिए। यो बैठकले चीनविरुद्ध कुनै साझा नीति सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो तर जब क्वाडको संयुक्त वक्तव्य ह्वाइट हाउसको वेबसाइटमा निस्कियो त्यहाँ चीनको नाम नै उल्लेख गरिएको छ।

चीनको नाम क्वाड बैठकको निष्कर्षमा नआएपछि हिन्द–प्रशान्त क्षेत्रका रक्षा विश्लेषक डेरिज जे ग्रासमेनले ट्विटमा भनेका छन्,‘साझा बयानमा चीनबारे केही भनिएको छैन। चीनलाई क्वाड उविरुद्धको मोर्चा होइन भन्ने सोच्न बाध्य बनाउन क्वाड देशका नेताहरुले चीनको नाम नलिने फैसला गरेको हुनसक्ने मेरो बुझाई छ। यद्यपी हामी सबैलाई थाहा छ क्वाड के हो।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वाडलाई लोकतान्त्रिक साझेदारको समूह भएको बताएका छन्। बाइडेनले भनेका छन्,‘कोरोना भाइरस, जलवायु परिवर्तन र विकसित नयाँ प्रविधिको चुनौतीसँग लड्न हामी एक छौं। ६ महिना पहिले जब हाम्रो भेट भएको थियो हमीले खुला र स्वतन्त्र हिन्द–प्रशान्त क्षेत्रको प्रतिवद्धता व्यक्त गरेका थियौं। म अब भन्न सक्छु कि हामीले यो विषयमा धेरै प्रगति गरेका छौं।’

अस्ट्रेलिया, जापान र भारतका प्रधानमन्त्रीले पनि बाइडेनकै जस्तो भनाइ राखे तर चीनको नाम लिएनन्।

६ महिनाको अवधिमा चीनले दाबी गर्ने दक्षिण चीन सागरमा अमेरिका, भारत, जापान र अस्ट्रेलियाका नौसेनाले युद्ध अभ्यास गरेका थिए। चीनले दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा आफ्नो हक भएको बताएता पनि क्वाडले चीनको विरोध गर्दै आफ्नो डुंगा र सेना त्यहाँ पठाउने गरेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्