हुवावेकी वित्त प्रमुख चीन फर्काइएपछि चीनले थुनामुक्त गर्यो दुई क्यानडेली नागरिक

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ०५


तीन वर्षसम्म क्यानडामा नजरबन्दमा रहेकी प्रविधि कम्पनी हुवावेकी वित्त प्रमुख मेङ वान्जुलाई चीन फर्काइएको छ। वान्जु चीन फर्काइएपछि नै चीनले दुई क्यानडेली नागरिकलाई थुनामुक्त गरेको बीबीसीले जनाएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनको नियन्त्रणमा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्किन लागेको जानकारी दिएका छन्। यसअघि सन् २०१८ मा जब वान्जुलाई क्यानडाले गिरफ्तार गरेको थियो त्यसको केही समयमै माइकल स्पाभोर र माइकल कोभरिगलाई जासुसीको आरोपमा चीनमा पक्राउ गरेको थियो।

अमेरिकाले वान्जुलाई पक्रन वारेन्ट जारी गरेपछि क्यानडाका प्रहरीले उनलाई भ्यानकुभरमा पक्राउ गरेर नजरबन्दमा राखेको थियो। चिनियाँ प्रविधि कम्पनी हुवावेले अमेरिकी प्रतिबन्धान्मक नियम पालना नगरेको अमेरिकी ठहर थियो।

सोही मुद्दामा अनुसन्धान गर्न वान्जु पक्राउ भएपछि चीनले पनि प्रतिशोध साध्न दुई क्यानडेली नागरिक पक्राउ गरेको थियो। बीबीसीका अनुसार यतिबेला अमेरिकी अभियोजनकर्तासँगको छलफलपनि वान्जुलाई चीन जान दिइएको हो।

शुक्रबार अमेरिकी स्टेट डिपार्टमेन्ट र मेङबीच सहमति भएपछि दुईतर्फी रिहाइको घोषणा भएको हो। सहमतिअनुसार सन् २०२२ पछि उनीविरुद्धको अभियोग अमेरिकाले फिर्ता लिनेछ।

यसअघि पनि वान्जु क्यानडाका विभिन्न स्थान भ्रमण गर्न पाउँथिन् तर उनले सो देश छाड्न भने पाउँदिन थिइन्। उनको खुट्टामा ट्र्याकर राखिएको थियो। ट्रुडोले चीनबाट क्यानडा फर्कन लागेका दुई नागरिक हजार दिनसम्म चीनको थुनामा रहेको बताउँदै उनीहरु निर्दोष भएको बताए।

हुवावे विश्वमा पहिलोपटक फाइभ–जी प्रविधि विकास गर्ने प्रविधि समूह हो। तर अमेरिकाले चिनियाँ प्रविधि सामग्रीलाई जासुसीको माध्यम भएको बताउने गरेको छ। हुवावेले भने अमेरिकाले प्रविधिमा आफूलाई जित्न नसकेकाले उसले आफ्नो वित्त प्रमुख नियन्त्रणमा लिएको आरोप लगाउँदै आएको थियो।

चीनमाथि वान्जुलाई मुक्त गर्न राजनीतिक सौदाबाजीको लागि दुई क्यानडेली नागरिकमाथि जासुसीको आरोप लगाएको दोष लाग्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस्