सेनेटरी प्याडको मूल्य बढाएकोप्रति अनेरास्ववियूको आपत्ति, भन्सार शुल्क र भ्याट खारेज गर्न माग

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ८ : ५४


काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सेनेटरी प्याडमा लगाएको कर हटाउन माग गरेको छ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै स्यानिटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न माग गरेकी छन्।

‘वर्तमान परिस्थितिमा स्यानिटरी प्याड महिलाको विलासिता नभई आवश्यकता हो’, उनले भनेकी छन्, ‘प्रत्येक महिलाले मासिक रूपमा प्रयोग गर्ने स्यानिटरी प्याड सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउनु राज्यको दायित्व हुनुपर्नेमा सरकारले प्याडमा समेत विलासिताको सामग्रीमा झैँ उच्च कर लगाई महिलाहरूको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्छ।’

उनले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरूका लागिसमेत निस्शुल्क र अनिवार्य स्यानिटरी प्याड उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

विज्ञप्तिको पूर्णपाठ

अनेरास्ववियु मुलुकभित्रका विकृति, विसंगति, अनियमितताको विरुद्ध एवम् जनजिविका, राष्ट्रियता र अधिकार प्राप्तिको आन्दोलनको पक्षमा सदैव लड्दै आइरहेको संगठन हो।

अनेरास्ववियुले विगतमा गरिएका आन्दोलनको शैलीलाई परिवर्तन गरि अवका आन्दोलनहरुलाई प्राविधिक र रचनात्मक बनाउँदै हरेक क्षेत्र र पक्षहरुमा सरकारी र गैर सरकारी निकायहरुबाट हुने विभेद, अन्याय र अत्याचार, विकृती, विसंगतीको विरुद्ध निरन्तर खबरदारी गर्दै र सचेत गगाउँदै आइरहेको सर्वविदित नै छ।

यसै सन्दर्भमा विश्वको करिब चार अर्व र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ।

वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभई आवश्यकता हो । तसर्थ प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्नेमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रिमा झै उच्च कर लगाई महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्दछ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष ०७६/०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष अनेरास्ववियु जोडदार माग गर्दछ। साथै वर्तमान सरकारले सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न समेत अनेरास्ववियु नेपाल सरकार समक्ष माग गर्दछ।
हार्दिक अभिवादन सहित!
सुनिता बराल
अध्यक्ष


प्रतिक्रिया दिनुहोस्