पोखरा। नेपाल आईटीएफले बागलुङमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु गरेको छ । शुक्रबारदेखि बागलुङको ढोरपाटन नगरपालिका बोबाङमा सुरु भएको प्रतिस्पर्धा शनिबारसम्म चल्नेछ ।
प्रतियोगितामा गण्डकीका छवटा जिल्ला सहभागी छन् । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले खेलको विकासका लागि गण्डकी सरकार निरन्तर लागिरहेको बताए।
‘पहिले छुट्टै मन्त्रालय थिएन। अहिले खेलकुद हेर्ने मन्त्रालय छुट्टै छ । हाम्रो अधिकतम प्रयास खेलकुदको विकासमै छ’, उनले भने, ‘युवाहरूलाई खेल र रोजगारीसँग जोड्नुपर्छ। युवा बेरोजगार हुनु भनेको देश दुर्घटनामा फस्नु जस्तै हो।’
उनले ग्रामीण क्षेत्रमा खेल मैदानहरू निर्माण गर्ने र स्वरोजगारका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता दोहोर्याए।
गण्डकी खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङले देशले नै खेल क्षेत्रलाई महत्त्व नदिएका कारण समस्या भोग्नुपरेको बताए । ‘हाम्रो जस्तो देशमा खेलकुदलाई महत्त्व दिएको छैन । गण्डकीमा पनि धेरै अप्ठ्यारा परिस्थितिहरू छन्। खेल खेल्यो भने के हुन्छ भन्ने ज्ञान अभिभावकलाई छैन’, उनी भन्छन्, ‘पूर्वाधार र खेल सामग्रीको अभाव छ । यही अभावबाट पनि व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेछ । गण्डकीले केही सुरुवात गरेको छ।’
खेलाडी दुर्घटना भए त्यसको उपचार निस्शुल्क गर्ने व्यवस्था मिलाइएको उनले बताए। ‘कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीलाई सत प्रतिशत निस्शुल्क उपचार हुन्छ। राष्ट्रिय खेल खेलेकालाई ५० प्रतिशत छुट गरेका छौँ’, उनले भने, ‘यो सुरुवात मात्र हो तर खेलाडीका लागि सुखद पक्ष हो।’
उनका अनुसार सरकारले गाउँघरमा भएका विद्यालयका खेल मैदानलाई स्तरोन्नति गर्न लागेको छ। ‘सरकारी विद्यालयमा जग्गा भए सेभेन ए साइडको फुटबल खेल्ने मैदान बनाउन लागिरहेका छौँ। सूचना निस्किसकेको छ’, गुरुङले थपे, ‘युवा स्वरोजगारका लागि पनि खेलाडीले उद्यम गर्न चाहन्छ भने प्याकेज ल्याएका छौँ ।’
निशीखोला र तमानखोला गाउँपालिकाका अध्यक्षहरूले ग्रामीण पूर्वाधारमा साथ दिन आग्रह गरे। बागलुङबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भए पनि त्यसअनुसार पूर्वाधार नभएको उनीहरूको गुनासो छ । आईटीएफका गण्डकी अध्यक्ष घमबहादुर थापाले सबैखाले एकताको स्रोत खेलकुद भए पनि खेल क्षेत्रमा राज्यको नजर नपुगेको बताए।
‘विश्वभर विभाजन छ विभिन्न नाममा तर खेल क्षेत्र मात्र यस्तो हो, जहाँ एकता मात्र हुन्छ’, उनले भने, ‘हामी एकताका लागि मिहिनेत गरिरहेका छौँ । धेरै युवाहरू कुलतमा फसिरहेका छन्। उनीहरूलाई खेल क्षेत्रमा जोड्न सके समाज राम्रो बन्छ।’