म्युजिक भिडियोमा सम्राज्ञी, मन पर्‍यो नयाँपन

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ५४


काठमाडौं । डेब्यु फिल्म ‘ड्रिम्स’मार्फत नै प्रभाव छोडेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह म्युजिक भिडियोमा देखा पर्दिनन् भन्दा फरक नपर्ला।

उनलाई डेब्यु फिल्म सफल भए यता धेरै भिडियो अफर भएका छन्, यद्यपि अभिनय मात्र दुईमा गरेकी छन् । नट्टु शाहको भिडियो र आफ्नै आमाको गीतमा पूर्वप्रेमी देवांश राणासँग साम्राज्ञीले भिडियो खेलेकी छन्। त्यसबाहेक उनलाई भिडियोमा देखिएको छैन। त्यसैले उनी म्युजिक भिडियोमा खासै नदेखिने एक्ट्रेसमा पर्छिन्।

तर, उनले यसपटक आएको अफरलाई स्वीकार गर्दै भिडियो गर्ने निर्णय लिइन्। उनलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका छन्।

निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन्।

ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन्।

चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ।

गीतमा कोरियोग्राफी माइकल चन्दको रहने छ। गीतको भिडियोको छायाँकन काठमाडौंका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए।

शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात छोटो प्रतिक्रिया दिँदै अभिनेत्री शाहले गीत र म्युजिक भिडियोमा प्रयोग गरिने नयाँपन मन परेको कारण काम गर्न लागेको बताएकी छिन्।


प्रतिक्रिया दिनुहोस्