अमेरिकासँग रिसाएको फ्रान्स फकाउदै चीन, बढायो मित्रताको हात

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ४९


फ्रान्स पछिल्लो समय अमेरिका र अस्ट्रेलियासँग रुष्ट भएको छ। जसकारण फ्रान्सले आफ्नो राम्रो साझेदार मानिएको यी दुवै राष्ट्रबाट आफ्नो राजदूत फिर्ता गर्ने निर्णय गरेको छ।

फ्रान्स अमेरिकासँग रुष्ट भएकै समयमा चीनले भने फ्रान्ससँग मित्रताको हात अगाडि बढाएको छ। फ्रान्सका लागि चिनियाँ राजदूत लु सायले बेलायत र अष्ट्रेलियासँगको नयाँ अमेरिकी सुरक्षा गठबन्धनको घोषणापछि चीन र फ्रान्सले सहकार्य सुदृढ बनाउनुपर्ने बताएका छन्।

उनले रुसी संचारमाध्यम स्पुतनिक फ्रान्ससँग भनेका छन्,‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्यका रूपमा चीन र फ्रान्सले अन्तर्राष्ट्रिय शान्ति र स्थिरता कायम राख्ने, विश्वव्यापी विकास र बहुपक्षीयतालाई बढावा दिने जिम्मेवारी लिनुपर्छ। त्यसो भएमा हामी सारा विश्वको हितमा रहेको हाम्रो सहयोगलाई बलियो बनाउन सक्छौं र त्यो गर्नुपर्छ।’

वास्तवमा हालै अमेरिका, अस्ट्रेलिया र बेलायतबीच त्रिदेशीय सुरक्षा सम्झौता भएको थियो। सोही सम्झौताको विपक्षमा फ्रान्स देखिएको छ। झनै सो सम्झौताले चीनविरुद्ध नीति लिएकाले चीन विपक्षीमा नहुने कुरै भएन।

फ्रान्सको विदेशमन्त्रालयले हालै राजदूत फिर्ता गर्नुको कारणबारे भनेको थियो,‘असाधारण गम्भीरता देखिएपछि असाधारण फैसला गरिएको हो।’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको सम्झौतालाई ‘आकस’ सम्झौता भनिएको छ। यो सम्झौतामा अस्ट्रेलियालाई पनडुब्बी बनाउन बेलायत र अमेरिकाले सहयोग गर्नेछ। साथै यी देशले हिन्द–प्रशान्त क्षेत्रमा चीनको चुनौती एक भएर सामना गर्ने लक्ष्य लिएका छन्।

अस्ट्रेलियाले अमेरिकासँग पनडुब्बी खरिद गर्ने सम्झौता गरेपछि अस्ट्रेलिया र फ्रान्सबीच भएको अरबौं डलरको रक्षा सम्झौता अन्त्य भएको छ जसका कारण फ्रान्स अस्ट्रेलिया र अमेरिकासँग रुष्ट भएको हो।

पाँचवर्ष अगाडि अस्ट्रेलियाले फ्रान्सबाट १५ पनडुब्बी खरिद गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। तर अहिले अस्ट्रेलियाले अमेरिकासँग सम्झौता गरेर आफूसँगको सम्झौता तोडेपछि फ्रान्सका विदेशमन्त्री जिन ईभ्स ले ड्रियाले अमेरिका र अस्ट्रेलियाले आफूलाई पछाडिबाट छुरा हानेको बताएका छन्।

५६ अर्ब यूरोमा पनडुब्बीको सम्झौता भएको थियो। यतिबेला सम्झौता उल्टाउँदै रक्षा सम्झौता अमेरिकाले आफ्नो हातमा प्राप्त गरेपछि फ्रान्सले अमेरिकालाई बेइमानको संज्ञा दिएको छ। विदेशमन्त्री जिनका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अस्ट्रोलियासँगको रक्षा सम्झौता उल्टाउन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै भूमिका खेले।

यस्तोबेलामा हतियार व्यापारको विषयमा अमेरिका र अस्ट्रेलियासँग रुष्ट भएको फ्रान्सलाई फकाउन र राम्रो सम्बन्ध स्थापित गर्न चीनले प्रयास जारी राखेको हो। एससीएमपी र बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्