हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्।
वरिष्ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुनः हेइटी फर्काउने निर्णयलाई अमानवीय भन्दै एउटा आलोचनात्मक पत्र लेखेका हुन्।
गत सप्ताहन्त अमेरिकाले सीमावर्ती टेक्सस सहरबाट आप्रवासीहरूलाई घर फर्काउने उडानहरू सुरु गरेको थियो। आइतवारयता अमेरिकाले मेक्सिकोसँगको सीमानामा रहेको टेक्ससका शिविरहरूबाट १४ सयभन्दा धेरैलाई हेइटी फिर्ता गरिसकेको छ।
जहाँ एउटा अन्डरपासमुनी ३७ डिग्री सेल्सिअसको धूपमा झण्डै १३ हजार आप्रवासीहरू जम्मा भएर बसेका थिए।स्थानिय अधिकारीहरू उनीहरूलाई खानेकुरा र पर्याप्त सरसफाई सुनिश्चित गर्न सङ्घर्षरत थिए।
एएफफी समाचार संस्थाका एकजना फोटोपत्रकारले यसैसाताको सुरुमा खिचेका तस्बिरहरूले अमेरिकी दासता र अस्वेत वर्णका मानिसहरूका लागि देशको ऐतिहासिक नराम्रो व्यवहारको निर्दयी झल्को देखाएको थियो।
सार्वजनिक फोटोहरुमा घोडसवार सुरक्षाकर्मीले आप्रवासीमाथि कुटपिट गरेको देखिएको थियो। आफ्नो राजिनामापत्रमा विशेष दूत फुटेले हेइटी ‘असफल राष्ट्र’ भएको र उसले जबरजस्ती फर्काइएका आप्रवासीलाई खानेकुरा, आवास र पैसाजस्ता सहायता उपलब्ध गराउन नसक्ने बताए।
फिटर्सन जान्भियर
यसैबीच हेइटी नै फर्काइएका अमेरिकी सपना बोकेका अवैध आप्रवासी फिटर्सन जान्भियरले आफूहरुलाई अमानवीय तवरले हेइटी फर्काइएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले आफूहरुले ११ देश छल्दै अमेरिका पुगेपनि अमेरिका बस्ने चाहना पुरा गर्न नपाएको गुनासो गरेका छन्।
फिटर्सनका अनुसार उनीहरु कोलम्बिया, पनामा, ब्राजिल, चिली, पेरु, इक्वेडर तथा मेक्सिकोजस्ता देशको खोला र जंगल दिन रात नभनी हिँड्दै अमेरिका पुगेका थिए।
आफ्नो देशमा अवसर नहुँदा, सुरक्षा, रोजगार, स्वास्थ्य, खाना तथा शिक्षाको ग्यारेन्टी नहुँदा मानिसहरु अवैध रुपमै अमेरिका प्रवेश गर्न चाहन्छन्। नेपालबाट पनि अवैक रुपमा अमेरिका जाने र पठाउने गरेको घटनाहरु सार्वजनिक भइरहन्छन्।
हालै ६० जना नेपाली जर्मनीमा पक्राउ परेका थिए। उनीहरु अवैध रुपमा अमेरिका जान खोज्दै थिए। पक्राउ परेका उनीहरुले जनही ३८–३८ लाख तिरेका थिए। बीबीसीकाे सहयाेगमा
यो पनिः आप्रवासी समस्याः दास प्रथाको झल्को दिने अमेरिकी सुरक्षाकर्मीको व्यवहार