नारायणहिटीबाट पूर्वराजाको श्रीपेच चोर्न खोज्ने युवक पक्राउ

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : २५


काठमाडौं । नारायणहिटी राजदरबार संग्रहालयमा रहेको श्रीपेच चोर्न खोज्ने एक युवक पक्राउ परेका छन।

पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती छन। घर्ती शुक्रबार संग्रहालय हेर्न टिकट काटेर भित्र गएका थिए।

घर्तीले नारायणहिटी भित्र पुगेपछि राजाहरुले लाउने श्रीपेच चोर्ने प्रयास गरे। उनले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर श्रीपेच राखिएको शोकेस फुटाएपछि सुरक्षामा खटिएका सेनाका जवानले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए।

उनलाई नियन्त्रणमा लिई प्रहरीकहाँ अनुसन्धानका लागि बुझाइएको छ।

काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले प्रहरी नियन्त्रणमा रहेका घर्तीमाथि आवश्यक अनुसन्धान भइरहेको बताए।

सिंहका अनुसार प्रारम्भिक बयानमा राजा बन्न मन लागेर श्रीपेच उठाउन खोजेको घर्तीले बताएका छन्।

प्रारम्भिक अनुसन्धानमा उनको मानसिक अवस्था ठिक नभएको हुनसक्ने प्रहरीको भनाई छ।


प्रतिक्रिया दिनुहोस्