प्रचण्डसँग चुनाव लड्छु भन्ने बादललाई सुदन किरातीले ‘फिस्टो’ चराको संज्ञा दिए

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ००


नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चुनाव लड्नसक्ने बताएका छन्।

प्रेस चौतारी चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले पार्टीको निर्णय भए प्रचण्डविरूद्ध आफू चुनाव लड्न राजी भएको बताएपछि माओवादी केन्द्रका सांसद सुदन किराँतीले बादलसँग प्रचण्डले लड्न नसुहाने र आफूले उनीसँग चुनाव लड्ने भन्दै चुनौती दिएका छन्।

बादलले भनेका थिए,‘चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ, त्यो स्थितिमा प्रचण्ड भर्सेज बादल हुन पनि सक्छ।’ यसको जवाफमा सुदन किराँतीले भनेका छन्,‘फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी। सुदन किराती भर्सेस राम बहादुर थापा।’

बादल माओवादी केन्द्र र एमालेबीच पार्टी समायोजन हुँदा गृहमन्त्री बनेका थिए। त्यसयता उनी र केपी शर्मा ओलीबीचको सम्बन्ध प्रगाढ बनेको थियो। अन्ततः जब अदालतले पुरानै पार्टी यथावत् रहने फैसला गर्यो बादलले ओलीसँगै एमालेमै रहने निर्णय गरेका थिए।


प्रतिक्रिया दिनुहोस्