दक्षिण कोरियालाई उत्तरको जवाफः कोरियाली युद्ध अन्त्यको घोषणा गर्नु छिटो हुनेछ

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १ : २०


दक्षिण कोरियाले यसैहप्ताको मंगलबार संयुक्त राष्ट्रसंघको राज्य सभामा कोरियाली युद्ध अन्त्यको घोषणा हुनुपर्ने बताएको थियो।

दक्षिणका राष्ट्रपति मुन जाय–इनले उत्तर कोरिया र दक्षिण कोरिया दुवैले अमेरिका अथवा अमेरिका र चीन दुवैसँग मिलेर युद्ध अन्त्यको घोषणा गर्नुपर्ने प्रस्ताव गरेका थिए।

यतिबेला जवाफमा उत्तर कोरियाले कोरियाली युद्ध अन्त्यको घोषणा गर्नु छिटो हुने बताएको छ। उत्तर कोरियाको समाचार संस्था केसीएनएले उपविदेशमन्त्री रि थाई सङको भनाइ उदृत गर्दै भनेको छ,‘कोरियाली युद्ध अन्त्यको औपचारिक घोषणा गर्नु छिटो हुनेछ। युद्ध अन्त्यको घोषणा हुँदैमा अमेरिकाले हामीमाथिको शत्रुतापूर्ण नीति त्याग्छ भन्ने ग्यारेन्टी छैन।’

सन् १९५० देखि १९५३ अर्थात तीनवर्षे गृहयुद्ध रोकिए पश्चात पनि यी दुवै राष्ट्र प्राविधिक रुपमा युद्धमै छन् किनभने उनीहरुले युद्ध रोक्नको लागि युद्धविराम मात्र गरेका छन्। उनीहरुबीच शान्ति सम्झौता भएको छैन।

उपविदेशमन्त्री सङले भनेका छन्,‘युद्ध अन्त्यको घोषणा सय पटक गरिएता पनि हामीमाथिको अमेरिकी शत्रुतापूर्ण नीति तथा राजनीतिक परवेश परिवर्तन भएन भने केही उपलब्धि हुनेवाला छैन।’

उत्तर कोरिया के चाहन्छ?
वास्तवमा उत्तर कोरियाले आफूमाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धहरु हटोस् भन्ने चाहन्छ। यदी संयुक्त राष्ट्रसंघ, अमेरिका लगायतका समूहले लगाएको प्रतिबन्धहरु हटेमा आफूले क्षेप्यास्त्र तथा परमाणु हतियार विकासका कार्यक्रम त्याग्ने उत्तर कोरियाको भनाइ छ।

तर अन्तर्राष्ट्रिय समुदाले उत्तर कोरियामाथिको आर्थिक तथा अन्य प्रतिबन्ध हटाएको छैन। यसअघि सन् २०१८ र २०१९ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरका सर्वोच्च नेता किम जोङ उनबीच दुईपटक क्षेप्यास्त्र निशस्त्रीकरणको विषयमा शिखर वार्ता भएको थियो।

उत्तर कोरियाले त्यसबेला पनि प्रतिबन्ध हटेमा क्षेप्यास्त्र कार्यक्रम बन्द गर्ने वाचा गरेको थियो। तर उत्तरमाथिका प्रतिबन्धहरु पूर्ण रुपमा नहटाउने ट्रम्पको अडानपछि छलफल निष्कर्ष विहिन भएको थियो।

यतिबेला आफ्नो सुरक्षाको लागि भन्दै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण, तथा परमाणु कार्यक्रम संचालन गर्दै आएको छ। अहिले उत्तर कोरियाले पनडुब्बीबाटै मार हान्नसक्ने क्षेप्यास्त्र, अन्तर महादेशीय क्षेप्यास्त्र, ब्यालेस्टिक क्षेप्यास्त्र, क्रुज क्षेप्यास्त्रजस्ता हतियार परीक्षण गरिरहेको छ।

उत्तर कोरियाले आफ्नो देशका एक जनामा कोरोना संक्रमण नभएको पनि दाबी गर्दछ। सीएनएनको सहयोगमा


प्रतिक्रिया दिनुहोस्