एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : २४


गैर आवासीय नेपाली संघ (एनआरएनए)को आसन्न १०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले संघको २०२१/२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन। उनले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन्।

‘पहिलो पटक एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिन्छौ। यो एउटा इतिहास रहनेछ। अर्को महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्,’ थापाले भनिन्।

परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिइन्। सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने उनले बताइन्।

उनले आफू निर्वाचित भएको खण्डमा एनआरएनमा आवद्ध हुने संख्या १५ लाख पुर्‍याउने दाबी गरिन्। अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेण्डालाई प्रमुखताका साथ उठाउने उनको भनाई छ।

उनले विदेशमा हासिल गरेका सीपलाई नेपालमा ल्याई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन्। संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन्।

घोषणा सभामा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले पनि उम्मेदवारी घोषणा गरेका छन्।

महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका थापासहित बेलायतका कूल आचार्य र रसियाका डा.बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्