स्थानीयतह देखि केन्द्रसम्मै गठबन्धन बनाएर चुुनावमा जान्छौं : नेता नेपाल

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ०९


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्र देखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने बताएका छन।

अध्यक्ष नेपालले बिहीवार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धनको बिचमा सम्बन्ध सुमधुर रहेको बताएका छन।

उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

अध्यक्ष नेपालले गठबन्धनकाबिचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने तयारी भइरहेको जानकारी दिए।

गठबन्धनलाई आगामी चुनावभन्दा पछिसम्म निरन्तरता दिइने उनले उल्लेख गरे।

उनले भने – ‘सरकारमा सहभागी दलहरुका नेताहरुका बिचमा निकै राम्रो सुमधुर सम्बन्ध छ । बाहिर कसैले कुनै हल्ला फैलाउन खोजेतापनि यो गठबन्धन टुट्छ, फुट्छ, यो सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन । छिट्टै हामीले यसको संरचना बनाइरहेका छौँ । त्यो संरचना केन्द्रमा बन्नेछ । दस्तावेज पास गर्नेछ । यसको नामाकरण पनि गर्नेछ । त्यसको प्रदेश, जिल्ला र पालिकामा पाँचै दलको बिचमा समन्वय संयन्त्र बनाउनेछौँ । सहकार्य पनि गर्दै जानेछौँ । आगामी चुनावमा हामी, चनुाव सम्म र चुनावपश्चात पनि हामी यो गठबन्धनलाई निरन्तरता दिन चाहान्छौँ ।’

अध्यक्ष नेपालले यो गठबन्धनको मुल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अगाडी बढ्ने नीति रहेको उल्लेख गरे।

उनले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नभएको पनि स्पष्ट पारे।

पार्टीको जग बलियो भएको र कार्यकर्ताहरुको व्यापक समर्थन भएका कारण संगठन फैलिदै गएको पनि उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस्