जाजरकोटमा एक करोड २० लाखका सवारी साधन बरामद

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ०३


जाजरकोट। गत आर्थिक वर्षको ९ माघदेखि हालसम्म जाजरकोट प्रहरीले भारी मात्रामा सवारी साधन बरामत गरी सवारीधनीलाई बुझाएको छ।

चोरी निकासी गरी जाजरकोटमा लुकाईछिपाई राखेका मोटरसाइकलदेखि जिपसम्मका सवारी साधनहरू बरामत गरी सवारीधनीलाई बुझाएको हो।

जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएलगत्तै प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले एक वर्षे चोरी पैठारी नियन्त्रणका लागि कार्ययोजना बनाएर काम सुरु गरेका थिए।

आठ महिनाको अवधिमा डीएसपी थापाको नेतृत्वको टिमले भारी सफलता प्राप्त गरेको छ । ३८ वटा मोटरसाइकल, एउटा बोलेरो जिप गरी एक करोड २० लाख रुपैयाँ बराबरका सवारी साधन बरामद गरिएको बताइएको छ।

चोरी पैठारी गरिएकामध्ये एउटा जिप र आठवटा मोटरसाइकल कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको छ। त्यस्तै, १२ वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको प्रहरीले बताएको छ।

चारवटा मोटरसाइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया चलिरहेको छ। १४ वटा मोटरसाइकलबारे प्रहरीले आन्तरिक अनुसन्धान जारी राखेको बताएको छ।

भेरी करिडोर र मध्यपहाडी लोकमार्गको सडक जाजरकोट भएर जाने भएकाले यहाँ चोरी पैठारी गरेर सवारी साधन ल्याई लुकाउने क्रम बढेसँगै प्रहरीले निगरानी बढाएको थियो । सवारी चालक अनुमतिपत्र नभएका, मापदण्डविपरीत सवारी चलाउनेलाई समेत कारबाही गरिएको छ।

सादा पोसाकमा प्रहरी परिचालन गरी जनताको जीउ(धनको सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले बताएको छ । संरक्षित जनावर रेडपाण्डालगाएका जंगली जनावरको तस्करी गरी बिक्री वितरण गर्नेका लागि सक्रिय गिरोहविरुद्धमा पनि प्रहरी आक्रामक ढंगले सक्रिय भएको छ।

छिमेकी जिल्लाका सुरक्षा अधिकारीसँग सहकार्य गरी बदमासी गर्नेविरुद्ध व्यापक रूपमा खटिएको प्रहरीको भनाइ छ । तस्कारहरूले सुरक्षित ठानेको जाजरकोटमा प्रहरीको सक्रियतासँगै उनीहरूको सपना चकनाचुर हुँदै गएको डीएसपी थापा बताउँछन्।


प्रतिक्रिया दिनुहोस्