ओली र राधिकाका ‘छोरी’ले शैक्षिक सत्रमै पाएनन् कापी-कलम

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ५७


मुगु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका-८ मांग्रीकी ठिल्ले साङमु लामालाई शैक्षिक सामग्रीको अभाव भएको छ।

असार महिनामा सुरु भएको शैक्षिक सत्र बितेको तीन महिना भइसक्दा पनि उनलाई हालसम्म कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन। ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको करिब तीन महिना हुन लाग्दा पनि लामाको पढाइका लागि कुनै ध्यान नदिएको पारिवारिक स्रोतले बताएको छ।

जुन प्रधानमन्त्री सरकारमा आएपछि लामालाई हेर्नुपर्ने भए पनि सरकारले गर्नुपर्ने जिम्मेवारी पंरा नगरेको उनकी आमा छिचु लामाले गुनासो गरिन्।

सहयोग गर्नु त परै जावस्, एक पटक पनि सोधपुछ गरिएको छैनु, छिचु लामाले भनिन्। एक वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री ओलीले एक पटक मात्र २० हजार रुपैयाँ पठाएका उनले बताइन्। त्यसपछि छोरीलाई कुनै पनि सहयोग नभएको आमा लामाको भनाइ छ।

कोरोनाले थला परेका विद्यालय पनि विस्तारै खुलेका छन्। विद्यालय खुले पनि लामाको अध्ययन भने खुलेको छैन। लामालाई विद्यालय जान आवश्यक पर्ने सामग्री कापी, कलम, झोला, विद्यालय पोसाकलगायत खाजा, खानाको अभाव भएको बुद्ध माध्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार अहिले ठिल्लेलाई शैक्षिक सामग्रीको अभाव भएको छ। ‘विद्यालयमा आउन त एक पटक आउँछन्, पोसाक लगाएको देखिँदैन, हातमा कापी, कलम पनि छैन, स्कुल आउने-जाने कामबाहेक अन्य केही भएको छैन’, उपाध्यायले भने।

छोरीको समस्या समाधान गर्न वर्तमान प्रधानमन्त्री देउवालाई चाँडोभन्दा चाँडो अभिभावकत्वको जिम्मेवारी पूरा गर्न उनले अनुरोध पनि गरिन्।

कर्णाली रारा पर्यटन वर्ष, २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगेर लामाको अभिभावकत्व ग्रहण गरेका थिए। तर, दुई वर्ष बितिसक्दा पनि ओलीले लामालाई पढाइ खर्च, गास, बास, कपास उपलब्ध नगराइदिँदा ‘प्रधामन्त्रीकै छोरी’ भनेर आफन्तले नै गिज्याउन थालेका छन्।

ठिल्ले अहिले बुद्ध माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन्।

उनी तीक्ष्ण भए पनि पठनपाठनमा आवश्यक सामग्री नहुँदा पढ्न कहिलेकाहीँ मात्र विद्यालय आउने गरेको विद्यालयले जनाएको छ।

घरमा लालनपालन गर्ने अभिभावक नहुनु र बुबाको पनि निधन भएकाले असहाय बनेकी लामाको ओलीले अभिभावकत्व ग्रहण गरेका थिए।

अहिले घरमा बिहान-बेलुका अन्न जुटाउने चिन्ता हुने गरेको परिवारको गुनासो छ।

रारा पर्यटन महोत्सवमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छेन्जोङ लामाको अभिभावकत्व ग्रहण गरेकी थिइन्।

उनको अवस्था पनि उस्तै छ। प्रधानमन्त्रीकी छोरी लामा र राधिकाकी छोरीले अहिलेसम्म भरपेट खान पाउँदैनन्।


प्रतिक्रिया दिनुहोस्