माधव नेपालको पार्टीमा मुकुन्द न्यौपाने ‘नेता’ बन्दा किन अटाएनन् वामदेव गौतम?

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ७ : ४३


काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको छ।

नेपालको अध्यक्षतामा गठित पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल चयन हुँदा पुराना वामपन्थी नेता मुकुन्द न्यौपाने तेस्रो वरीयतामा ‘नेता’ हैसियतमा पार्टी पोर्टफोलियोमा परेका छन्।

पदाधिकारीमा उपाध्यक्षको हैसियतमा चौथो वरीयतामा राजेन्द्र पाण्डेदेखि पदाधिकारीको अन्तिम वरीयतामा सचिवको हैसियतमा रामकुमारी झाँक्रीसम्म अटाउँदा एउटा परिचित अनुहारको खोजी हुन थालेको छ।

एमालेबाट वरिष्ठ उपाध्यक्षसहित साधारण सदस्यबाट राजीनामा बुझाएर हिँडेका नेता वामदेव गौतम नेकपा (एस)को वरिष्ठ उपाध्यक्ष बन्ने पक्कापक्की जस्तै थियो।

नेता नेपाल स्वयंले गौतमलाई पार्टीको दोस्रो वरीयतामा अटाउने सार्वजनिक घोषणा नै गरे। तर, पार्टी गठनदेखि लिएर पदाधिकारी चयनसम्म आइपुग्दा गौतम पार्टीको कुनै जिम्मेवारीमा देखिएनन्।

नेकपा (एस)को पहिलो केन्द्रीय कमिटी बैठकमा समेत अनुपस्थित गौतमलाई पार्टीले कुनै जिम्मेवारी दिएन। एमालेसँग सम्बन्धविच्छेद गरेको घोषणा गरे पनि नेकपा (एस)सँग उनको सम्बन्ध नगाँसिएको सो पार्टीका केन्द्रीय सदस्य प्रेमलकुमार खनाल बताउँछन्।

‘एमालेबाट राजीनामा दिए पनि उहाँ हाम्रो पार्टीसँग वैधानिक सम्बन्धमा हुनुहुन्न, सायद दुईतिर खुट्टा राख्न खोजेको हो कि ’, खनालले भने ।

वामदेव गौतमका निकट मानिने नेता हरि पराजुलीसमेत पार्टीको पदाधिकारीमा नअटाएपछि अब वामदेव के गर्छन् भन्ने सर्वत्र चासो छ।

वामदेव निकट एक नेताका अनुसार नेकपा ९एस०ले जनताको बहुदलीय जनवाद नमान्ने बताएका कारण उनी नेकपा (एस)सँग असन्तुष्ट छन्।

एमालेबाट राजीनामा दिएर हिँडे पनि उनको राजीनामा हालसम्म स्वीकृत भएको छैन। गौतम भने अब जनताको बहुदलीय जनवादलाई टेकेर वैज्ञानिक समाजवादको यात्रा तय गर्ने कार्यनीति र कार्यदिशा भएको पार्टीको खोजीमा छन्।

गौतमको यो लाइन एमालेसँग मिले पनि नेकपा (एस)ले संगठनको सैद्धान्तिक अवधारणा जबज नै हुने बताइरहेको छ।

पार्टीको कार्यनीति, कार्यदिशा र सिद्धान्त के हुने भन्ने विषयमा वरिष्ठ नेता भलनाथ खनाल नेतृत्वको टिमले दस्तावेज लेखन गरिरहेकाले यो विषय नटुंगिएसम्म गौतमको खुट्टा दुईवटा डुंगा (एमाले र नेकपा एस)मै बसिरहने एकीकृत समाजवादीका एक नेताको दाबी छ।


प्रतिक्रिया दिनुहोस्