माधव नेपालले पद दिन्छु भनेर मान्छे तान्न खोज्दैछन् तर पाएका छैनन्: ओली

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ५ : ४८


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थीविरुद्ध लड्ने नेकपा एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदनप्रति व्यंग्य गरेका छन्।

अध्यक्ष माधवकुमार नेपालले तयार पारेको राजनीतिक प्रतिवेदन दक्षिणपन्थी अवसरवाद परास्त गरेर वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्य लिइएको छ। यसमा ओलीले कांग्रेसको पछि लागेर दक्षिणपन्थीविरुद्ध लड्ने भन्दै व्यंग्य गरेका हुन्।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘अघि हेर्दै थिएँ दक्षिणपन्थीविरुद्ध लड्ने रे । कांग्रेसका पछि पछि हिँड्नु छ। दक्षिणपन्थविरुद्ध भिड्ने रे। कम्युनिस्टको नाममा दक्षिणपन्थीसँग भिड्ने रे।’

ओलीले माधव नेपालहरू एकता होइन फुटवादी शक्ति भएको र फुटको खेती गर्दै हिँडेको आरोप लगाए। ‘माके पार्टी, माने पार्टीजस्तो होइन। तिनीहरु एकता होइन, फाटोवादी पार्टी हो। फाटोको खेती गर्छ। एकतालाई धुजा धुजा पार्ने काम गर्छ’, उनले भने।

माधव नेपालले पदाधिकारी नै नपाएको भन्दै ओलीले फेरि व्यंग्य गरे, ‘त्यो त पदाधिकारी पार्टी भएछ। अलि भरिएको छैन। मान्छे खोज्दैछ। यो पद दिन्छु भनेर तान्न खोज्दैछन् तर पाएका छैनन्। हाम्रो राजनीति त्यस्तो होइन। आन्दोलन विभाजित होइन, एकता गर्ने राजनीति हो’, उनले भने।

ओलीले समृद्ध सुखी शिक्षित स्वस्थ बनाउने एमालेको नीति रहेको बताए। ‘राष्ट्रिय स्वाभिमान र गौरवको राजनीति। लोकतान्त्रिक प्रक्रिया प्रणाली तीमार्फत अगाडि बढ्ने छ। जनतालाई अन्योल भ्रम पछौटेपनबाट मुक्त गर्दै सचेत गराउने हो। जात भूगोल धर्मका नाममा फाटो ल्याउन खोज्छन् त्यसविरुद्ध एमालेको नीति हो। हाम्रो राजनीति एकताको राजनीति हो’, उनले भने।

एमालेले कसैको पार्टी कब्जा गर्ने नीति नभएको उनको भनाइ थियो। ‘हामी कसैका पार्टी कार्यालय, सम्पत्ति, फाइल कब्जा गर्न जाँदैनौं । राज्यसत्ता दुरुपयोग गरेर सत्ता कब्जा गर्दनौं’, उनले भने, ‘अहिले त प्रहरीलाई दुरुपयोग गरिएको छ। वैधानिक कर्मचारी संगठनको कार्यालय कब्जा गरिएको छ। कस्ता मतिका, एउटा कार्यालय खोल्न नसक्ने, अर्काको कार्यालय कब्जा गर्ने, सरकार पनि कस्तो भने ७० नेता गिरफ्तार गर्छ अनि विवाद छ भनेर प्रहरी ताला लाउँछ। सिंहरदरबार, बालुवाटार पाँच दलीय गठबन्धनबाट उत्पत्ति गरिएको विवाद होइन?’


प्रतिक्रिया दिनुहोस्